नयाँ पर्यटकीय गन्तव्य बन्दै ताप्लेजुङको सिद्धिडाँडा

चैत्र ३, २०७९ |आनन्द गौतम
नयाँ पर्यटकीय गन्तव्य बन्दै ताप्लेजुङको सिद्धिडाँडा

ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा, सुदूरपूर्वको हिमाली जिल्ला ताप्लेजुङको चिनारी हो ।

पाथीभरा माईको मन्दिरले पनि यो जिल्लाको ख्याती बढाएको छ । सदरमुकाम फुङलिङसम्म मात्रै पुग्ने आगन्तुकलाई भने नजिकैको सिद्धिडाँडाको आकर्षणले लोभ्याउने गरेको छ ।

ताप्लेजुङ सदरमुकाम फुङलिङबाट साढे दुई किलोमिटर दूरीमा रहेको सिद्धिडाँडा नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास भएको छ । यो ठाउँमा पुग्नासाथ एकनासले झरेका पाँच धारा, स्वागतद्वार र आाखा शीतल पार्ने पोखरी देख्दा आगन्तुकको मन प्रफुल्ल हुन्छ ।

सिद्धिडाँडालाई शान्त र मनोरम स्थलको रूपमा परिणत गर्ने परिकल्पना गरेका लामा गुरु गोपीमान गुरुङ यो ठाउँको थप विकास गर्दै लैजाने योजना सुनाउँछन् ।

गुरुङ भारतको दार्जिलिङमा जन्मिएका हुन् । भारतीय सेनाबाट अवकाश पाएपछि उनले ताप्लेजुङ आएर सिद्धिडाँडामा धार्मिक सहिष्णुता झल्काउने संरचना बनाउन पहल गरेका हुन् । उनको परिकल्पनालाई नेपाली सेना, सामाजिक संघसंस्था तथा सरकारी निकायले सहयोग गर्दा यो पूर्वाधार तयार भएको हो ।

सामाजिक सांस्कृतिक विविधताको प्रतिनिधित्व हुनेगरी मन्दिर, मठ, गुम्बालगायतका संरचना बनेको यो ठाउँको नौ रोपनी जग्गा स्थानीयले उपलब्ध गराएका हुन् ।

अलैचीका बोटसहितको बगैचा, सुन्दर र शान्त वातावरण भएको सिद्धिडाँडामा प्रवेश निशुल्क भएकाले दिनभरजसो आगन्तुकहरू पुगिरहेका हुन्छन् । यस ठाउँको थप प्रबर्द्धनका लागि पूर्वाधार निर्माणमा सरकारको साथ र सहयोग पाए यसले ठूलो संख्यामा पर्यटक तान्ने देखिन्छ । यससँगै सिद्धिडाँडाको प्रचारप्रसार पनि आवश्यक देखिएको छ ।


Image

आनन्द गौतम

गौतम कान्तिपुर टेलिभिजनका ताप्लेजुङ संवाददाता हुन् ।