विश्वकप फाइनल : अर्जेन्टिना र स्पेनको ट्याक्टिकल ‘अप्रोच’ कस्तो रहला त ?

श्रावण ३, २०८३ |अभय बस्नेत
विश्वकप फाइनल : अर्जेन्टिना र स्पेनको ट्याक्टिकल ‘अप्रोच’ कस्तो रहला त ?

काठमाडौं । न्युयोर्कको मेटलाइफ स्टेडियममा विश्वकप फाइनल भिडन्त केवल अर्जेन्टिना र स्पेनबीचको प्रतिस्पर्धा मात्र होइन यो त दुई भिन्न फुटबल रणनीतिको टकराव पनि हो । 

एकातिर स्पेनको 'पोजेजन-डोमिनेन्ट' फुटबल त अर्कोतिर अर्जेन्टिनाको 'कन्ट्रोल्ड भर्टिकल' शैली । यी दुईको ट्याक्टिकल अप्रोच आज कस्तो रहला त ?

लुइस डे ला फुएन्टेको स्पेनले आफ्नो परम्परागत 'टिकी-टाका' लाई 'अटाकी-टाका' मा परिमार्जन गरेको छ । स्पेनले ४-३-३ को फर्मेसन प्रयोग गर्छ, जसको मुख्य उद्देश्य बल नियन्त्रण गर्ने मात्र नभइ विपक्षीको डिफेन्स चिर्दै अगाडि बढ्नु हो ।

आजको खेलमा त्यो कसरी सम्भव होला त ? सुरुमा पाउ कुबार्सी र आयमेरिक लापोर्ट जस्ता 'बल-प्लेइङ' सेन्टर ब्याकहरूले रक्षापंक्तिबाटै लाइन-ब्रेकिङ पास उपलब्ध गराउँछन्, जसले विपक्षीको पहिलो लाइन अफ डिफेन्सलाई सजिलै काट्छ । मिडफिल्डमा रोड्रीले खेलको टेम्पो निर्धारण गर्छन् । 

उता विङ्समा लमिन यमाल जस्ता खेलाडीलाई 'आइसोलेट' गर्छ ताकि उनले वान-भर्सेज-वान स्थितिमा विपक्षी डिफेन्डरलाई हराउन सकून् । तर, अर्जेन्टिनाको रणनीतिक पहिचान नै विपक्षीको कमजोरीमा प्रहार गर्नु हो । लियोनल स्कालोनीले प्रायः ४-४-२ वा ४-५-१ को लचिलो फर्मेसन प्रयोग गर्छन् । 

जसले अर्जेन्टिनालाई बल नियन्त्रणमा भन्दा 'ट्रान्जिसन' मा बढी घातक बनाउँछ । अर्जेन्टिनाको मुख्य हतियार 'ओभरलोड-टू-स्विच' रणनीति हो । यो भनेको मैदानको एक छेउमा धेरै खेलाडी जम्मा गरेर विपक्षी डिफेन्सलाई व्यस्त बनाउने र लामो पासमार्फत खाली रहेको अर्को छेउमा बल स्विच गराउने । 

डिफेन्स गर्दा भने उनीहरू प्रायः 'लो-ब्लक' मा बस्न रुचाउँछन् । यो खेलको सबैभन्दा ठूलो लडाइँ मिडफिल्डमा हुनेछ । स्पेनका रोड्रीले खेल नियन्त्रण गर्न खोज्दा अर्जेन्टिनाका लिआन्द्रो पारेडेस, एन्जो फर्नान्डेज र एलेक्स म्याक एलिस्टरले उनलाई 'प्रेस' गरेर रोक्ने प्रयास गर्नेछन् । 

रोड्रीलाई रोक्न सकेमा अर्जेन्टिनाका लागि त्यो ठूलो उपलब्धि हुनेछ । स्पेनका फुलब्याक मार्क कुकुरेला धेरै अगाडि बढेर आक्रमणमा सघाउँछन् । अर्जेन्टिनाले कुकुरेला अगाडि बढ्दा पछाडि छोडिने हाफ-स्पेसलाई लक्षित गर्ने रणनीति बनाउनेछ ।

स्पेनले 'हाई डिफेन्सिभ लाइन' राख्छ, जसले विपक्षीलाई अफसाइड ट्र्यापमा पार्न मद्दत गर्छ । अर्जेन्टिना भने टाइट रक्षापंक्तिमा विश्वास गर्छ । स्पेनको 'काउन्टर-प्रेसिङ' यो प्रतियोगिताकै उत्कृष्ट छ । बल खोसिने बित्तिकै २-३ जना रिकभरीका लागि पुगिहाल्छन् ।

अर्कोतर्फ, अर्जेन्टिनाले यो विश्वकपमा सबैभन्दा धेरै 'फास्ट ब्रेक' बाट गोल गरेको छ । अर्थात् बल नियन्त्रणमा लिने र आक्रमण गरिहाल्ने । सेट-पिसमा पनि अर्जेन्टिनाको स्पष्ट अग्रता छ। उनीहरूले कर्नर र फ्रि-किकबाट ७ गोल गरिसकेका छन् । स्पेनको तुलनामा अर्जेन्टिना डेड-बल परिस्थितिमा बढी सिर्जनशील देखिन्छ ।

यदि स्पेनले पहिले गोल गर्‍यो भने, बल होल्ड गरेर अर्जेन्टिनालाई मौकै नदिने रणनीति अपनाउने छन् । सेमिफाइनलमा फ्रान्सविरुद्ध यही देखिएको थियो । तर, अर्जेन्टिना 'फोर्थ क्वार्टर टिम' अर्थात्, अन्तिम समयमा लय समात्ने टोली हो । उनीहरूले गरेका १९ मध्ये १२ गोल ७५ औं मिनेटपछि आएका छन् । 

स्कालोनीले खेलको स्थिति हेरेर लाउटारो मार्टिनेजलाई मैदान प्रवेश गराएर आक्रमणलाई थप तिखार्नेछन्, जबकि डे ला फुएन्टेसँग मिडफिल्ड बलियो बनाउन मिक्केल मेरिनो जस्ता प्रभावशाली विकल्प छन् । युरोपेली च्याम्पियन भर्सेज डिफेन्डिङ च्याम्पियनको यो भिडन्तमा कसको ट्याक्टिक्स सफल होला त ?

सम्बन्धित समाचार :

विश्वकप २०२६ को उपाधि कसले उचाल्ला ? अर्जेन्टिना कि स्पेन ?


Image

अभय बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजनको स्पोर्ट्स ब्युरोमा कार्यरत छन् ।