जनप्रतिनिधिको बेवास्ताले ज्येष्ठ नागरिक तथा अपाङ्गता ग्राम अलपत्र

भाद्र ७, २०८३ |अमृता अनमोल
जनप्रतिनिधिको बेवास्ताले ज्येष्ठ नागरिक तथा अपाङ्गता ग्राम अलपत्र

रुपन्देही । राज्यले संरक्षण गर्ने पहिलो लक्षित वर्गमा पर्छन् ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति । 

तिनै व्यक्तिको संरक्षणका लागि रूपन्देहीको सैनामैनामा एक अर्ब ४० करोड रुपैयाँ लगानीमा अत्याधुनिक ग्राम बनाउने योजना अगाडि सारियो । तर, जनप्रतिनिधिकै बेवास्ताले गर्दा निर्माण बिचैमै अलपत्र परेकाे छ ।

रूपन्देहीको सैनमैना नगरपालिका १ वनकट्टाको यो क्षेत्रमा ज्येष्ठ नागरिक तथा अपाङ्गता ग्राम बनाउन भन्दै तारजाली गरेको ठ्याक्कै ६ वर्ष पुग्यो । संघीय सरकारले २०७६ मंसिरमा हरेक प्रदेशमा एक एकवटा ज्येष्ठ नागरिक ग्राम बनाउने योजनाअनुसार सैनामैनाको यो क्षेत्र छनोट भएको थियो । 

जहाँ लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालय र सैनामैना नगरपालिकाले करिब ३५ लाख रुपैयाँ खर्च गरेर तारजाली गरेका छन् । विस्तृत अध्ययन प्रतिवेदनमा १० लाख रुपैयाँ खर्च भएको छ । तर, एक अर्ब ४० करोड रुपैयाँ लागतमा बन्ने भनेको ज्येष्ठ नागरिक तथा अपाङ्गता ग्राम भने कहिले बन्ने हो टुङ्गो छैन । 

संघीय सरकारले प्रदेश सरकार र प्रदेशले स्थानीय तहलाई दोषारोपण गर्दै यो योजना पछिल्लो समय अलपत्रजस्तै छ । ज्येष्ठ नागरिक ग्राम बनाउन साढे ६ बिघा जग्गा छुट्याउने र संरक्षण गर्ने काम पहिलो कार्यकालका जनप्रतिनिधिले गरेका थिए । दोस्रो कार्यकालका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले बेवास्ता गर्दा अत्याधुनिक स्वास्थ्य सेवा, आवास, खानपान तथा मनोरञ्जन सुविधासहितको ज्येष्ठ नागरिक तथा अपांगता ग्राम निर्माणस्थल घाँसे मैदान बनेको छ। 

यसले संरक्षणको आसमा बसेका बेसाहारा ज्येष्ठ नागरिक र सिकाइको अपेक्षामा बसेका अपांगता भएका व्यक्तिको भावनामा आघात पुगेको छ । आफ्नै घरछेउको जग्गा तारबार गरेर ज्येष्ठ नागरिक केन्द्र बन्ने भएपछि सैनामैनाको वनकट्टाबासीले जग्गा सिफारिसदेखि निर्माणका काममा सघाएका थिए । 

रूपन्देहीको सैनामैनाको यो क्षेत्रमा बनाउने भनिएको ज्येष्ठ नागरिकहरूलाई दिवा मनाेरञ्जन तथा भजनकीर्तन गराउने योजना थियो । एकल तथा असाहय ज्येष्ठ नागरिकलाई यही ल्याएर संरक्षण र औषधि उपचार गर्ने दोस्रो योजना थियो । यसैगरी अपांगता भएका व्यक्तिहरूलाई सीपमूलक तालिम दिने र संरक्षण गर्ने तेस्रो योजना अघि सारिको थियो । 

तर, संघले बजेट पठाए पनि प्रदेशले कार्यान्वयनमा नल्याउँदा ज्येष्ठ नागरिक तथा अपाङ्गता ग्राम अलपत्र परेको छ ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।