
काठमाडौं । अन्नपूर्ण हिमालको मनमोहक दृश्यदेखि मुस्ताङको अनुपम सौन्दर्यसम्म, खाल्डाखुल्डी र धुलाम्य सडकदेखि देश बनेको हेर्न चाहने युवाको सपनासम्म- प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौंदेखि मुस्ताङसम्मको तीनदिने भ्रमणका क्रममा देशका विविध रूप नजिकबाट नियाल्नुभयो ।
मुस्ताङ यात्राले उहाँलाई भूगोल मात्रै होइन, विकास कुरिरहेका जनताका संघर्षहरू पनि देखाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले मुस्ताङ यात्रामा प्रकृतिको अनुपम सौन्दर्य मात्र देख्नुभएन, अनुभव नै गर्नुभयो- विकासको सुस्त गति, जीर्ण सडक अनि नागरिकका अनेक संघर्ष र आकांक्षाहरू ।
यात्राको पहिलो दिन नै उहाँ नागढुंगा सुरुङमार्ग छिचोल्दै काठमाडौँबाट बाहिरिनुभयो । गत साउन ११ गते नै उद्घाटन भए पनि यो सुरुङमार्गमा हालसम्म औपचारिकरूपमा सार्वजनिक सवारी सञ्चालन भएको छैन ।
अघि बढ्दै जाँदा पृथ्वी राजमार्गमा पर्ने धादिङको गजुरीस्थित भैरव दल गणमा प्रधानमन्त्रीले केही समय बिताउनुभयो र त्यसपछि उहाँको यात्रा पोखरातर्फ अघि बढ्यो ।
मलेखुबाट प्रधानमन्त्री सवार गाडी धुलो उडाउँदै अघि बढिरहेको देखिन्छ । पृथ्वी राजमार्गको नौबिसेदेखि मुग्लिनसम्मको खण्ड २०७९ सालदेखि निर्माणाधीन छ । नागढुंगादेखि नौबिसेसमेत थपेर करिब ९० किलोमिटर सडकलाई तीन खण्डमा विभाजन गरी विस्तारको काम भइरहेको छ ।
नागढुंगा-नौबिसेमा ८९ प्रतिशत काम भएको छ । नौबिसे-मलेखुमा ५८ प्रतिशत काम भएको छ भने मलेखु-मुग्लिन ४३ प्रतिशत काम मात्र भएको छ । नागढुंगा-नौबिसे खण्डमा त अहिले तेस्रोपटक म्याद थप भएर काम चलिरहेको छ ।
मुग्लिनबाट उहाँ त्रिशूली नदी तरेर तनहुँ पस्नुभयो । मुग्लिनबाट पोखरासम्मको फराकिलो र चौडा सडकमा यात्रा सहजै हुन्छ । तर, यहाँ पनि मादी खोलासहितका स्थानमा पुललगायत संरचना बनिसक्न बाँकी छ । यात्राका क्रममा प्रधानमन्त्रीले विभिन्न स्थानमा गाडी रोकेर स्थानीयसँग कुराकानी पनि गर्नुभयो ।
स्थानीयले आफूहरूको जीवन यस्तै कठिनाइमा बिते पनि आफ्ना छोराछोरी र नातिनातिनाले दुःख भोग्न नपरोस् भनेर अपेक्षा राखे । प्रधानमन्त्री शाहले पनि देश बनाउन धेरै ठूलो कुरा आवश्यक नरहेको भन्दै आश्वस्त पार्नुभयो ।
एक युवाले प्रधानमन्त्री शाहको खुट्टा समाउँदै देश कहिले बन्छ भनेर प्रश्न गरेको दृश्य त सामाजिक सञ्जालमा चर्चितै भएको छ । प्रधानमन्त्रीले पहिलो रात माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इकोभिलेज रिसोर्टमा बिताउनुभयो । अस्ताममा सडक र खानेपानीको समस्या छ । तर, प्रधानमन्त्री नै गाउँमा पुगेपछि आफ्ना समस्या सम्बोधन हुने स्थानीयको अपेक्षा पनि छ ।
प्रधानमन्त्रीको भ्रमणले अस्तामलगायत क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने पर्यटन व्यवसायीको पनि विश्वास छ । यो दृश्य चाहिँ म्याग्दी हुँदै मुस्ताङ जाने क्रममा देखिएको सडकको हो । उबडखाबड, साँघुरो र जोखिमपूर्ण सडकमा प्रधानमन्त्रीसहितको टोलीलाई सवारी चलाउनसमेत कठिन देखिन्छ ।
यस्तो सडकमा पनि प्रधानमन्त्री शाहले आफैँ गाडी हाँक्नुभएको छ । यो दृश्य प्रधानमन्त्रीको टोलीले म्याग्दीको रघुगंगा गाउँपालिका सिरुबारीको पहिरो पार गर्दाको हो । एकाध वर्षअघिसम्म पनि मुस्ताङ यात्रामा सबैभन्दा कठिन खण्ड मालढुंगा-बेनी थियो । तर, अहिले यो १३ किलोमिटर खण्डमा जम्मा ८०० मिटर मात्र बन्न बाँकी छ ।
पहिरो र स्थानीयको विरोधका कारण रोकिएको ८०० मिटरमा यही वर्ष ठेक्का लाग्ने कालीगण्डकी करिडोर आयोजनाका आयोजना प्रमुख तेजस्वी शर्माले बताउनुभयो । अहिले यो यात्रामा चुनौती चाहिँ बेनी-घाँसा खण्डमा छ । ३३ किलोमिटरको यो खण्डमा २१ किलोमिटर पिच वा ढलान छ भने १२ किलोमिटर सकस नै हुनेसहितको कच्ची छ ।
९ ठाउँमा साना ठूला पहिरोले दुःख दिइरहन्छ । यहाँ २०७३/७४ सालमै ठेक्का लागेको हो । तर, हालसम्म पनि भौतिक प्रगति ७० प्रतिशत हाराहारी छ । पहिरोका कारण प्रायः अवरुद्ध भइरहने यो सडकको सास्ती महसुस गर्दै प्रधानमन्त्री शनिबार दिउँसो करिब ३ बजे जोमसोम पुग्नुभयो ।
साँझ साढे ७ बजे मुक्तिनाथ मन्दिर पुगेर उहाँले करिब ८ बजेसम्म पूजाअर्चना गर्नुभयो । मुस्ताङमा एक रात बिताएपछि प्रधानमन्त्री शाह आइतबार बिहान जोमसोमबाट फेरि सडकमार्ग हुँदै काठमाडौँ फर्कनुभयो । प्रधानमन्त्री शाहको तीन दिने मुस्ताङ भ्रमणले देखाएको देशको तस्बिरले अब सरकारको योजना, बजेट, काम र परिणामको प्रतीक्षा गरिरहेको छ ।