खोखो खेलाडी उत्पादन गर्ने थलो बन्दै ठाकुरबाबा

भाद्र ४, २०८३ |कमल पन्थी
खोखो खेलाडी उत्पादन गर्ने थलो बन्दै ठाकुरबाबा

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका खोखो खेलाडी उत्पादन गर्ने थलोका रूपमा स्थापित हुँदै गएको छ । एक दशकको अवधिमा यहाँबाट राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्तरसम्म खेलाडी पुगेका छन् । तर, खेलाडी उत्पादनको आधार यहाँको पूर्वाधार भने अहिले जीर्ण बन्दै गएको छ । पुरानो म्याट, प्रशिक्षक र डाइटको अभावका बीच खेलाडीहरू अभ्यास गरिरहेका छन् । विश्वकपमा नेपालले ऐतिहासिक सफलता हासिल गरेपछि खोखो खेलाडीको मनोबल बढेको पनि छ । तर, त्यसलाई निरन्तरता दिन राज्यको लगानी निकै न्यून छ ।

बर्दियामा खोखो खेलको सुरुवात भएको धेरै भएको छैन । वि.सं. २०७२/७३ बाट ठाकुरबाबा नगरपालिकाको रानीपुरस्थित कभर्डहलमा दुई जना प्रशिक्षकबाट सुरु भएको खोखो अहिले अन्तर्राष्ट्रिय पहिचान बनाउने खेल बनेको छ । सुरुवाती चरणमा आफ्नै बलबुतामा अभ्यास गरेका खेलाडीले राष्ट्रिय प्रतियोगितामा मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चमा समेत नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।

आठौं राष्ट्रिय खेलकुदमा लुम्बिनी प्रदेश तेस्रो बनेको थियो भने नवौं राष्ट्रिय खेलकुदमा लुम्बिनीले प्रथम स्थान हासिल गरेको थियो । यी सफलतामा ठाकुरबाबाबाट उत्पादित खेलाडीको योगदान महत्वपूर्ण रह्यो ।

खेलाडीका लागि अहिले सबैभन्दा ठूलो समस्या बनेको छ—पुरानो म्याट ।

करिब आठ–नौ वर्षदेखि प्रयोग हुँदै आएको म्याट च्यातिनुका साथै ठाउँ–ठाउँमा प्वाल परेका छन् । यही म्याटमा दैनिक अभ्यास गर्नुपर्ने बाध्यता खेलाडीको प्रदर्शनसँगै सुरक्षाका लागि समेत चुनौती बनेको छ ।

कभर्डहलको संरचना पनि खेलमैत्री छैन । खेलाडी अभ्यास गर्दा उत्पन्न हुने ठूलो आवाजले प्रशिक्षणमा समेत समस्या हुने गरेको छ ।

तर, सीमित स्रोतका बाबजुद स्थानीय तहले खोखोको विकासमा लगानी गर्दै आएको छ । खेलाडीको मनोबल बढाउन नगरपालिकाले खेलकुद विकास समिति स्थापना गरेको छ भने प्रशिक्षकमार्फत प्रशिक्षणको व्यवस्था पनि गरिएको थियो । यसको परिणाम राष्ट्रिय हुँदै अन्तर्राष्ट्रियस्तरमै देखिएको स्थानीय जनप्रतिनिधिको दाबी छ ।

२०२५ जनवरीमा भारतको नयाँ दिल्लीमा भएको पहिलो खोखो विश्वकपमा नेपाल महिला र पुरुष दुवै टोली उपविजेता बने । नेपालको यो ऐतिहासिक उपलब्धिमा ठाकुरबाबाबाट अन्तर्राष्ट्रियस्तरमा पुगेका खेलाडीको सहभागिता पनि रह्यो ।

विश्वकपपछि खेलाडीको मनोबल बढाउन राज्य तथा स्थानीय तहबाट पुरस्कारसमेत प्रदान गरिएको छ । संघीय सरकारले १३ जना खेलाडीलाई जनही २० लाख रुपैयाँका दरले पुरस्कार दिएको थियो । प्रदेश सरकारले जनही दुई लाख, काठमाडौं महानगरपालिकाले ५० हजार तथा ठाकुरबाबा नगरपालिकाले २५ हजार रुपैयाँ पुरस्कार दिएको खेलाडीहरूले बताएका छन् । तर, पुरस्कारले मात्र खेलाडीको भविष्य सुनिश्चित हुँदैन । नियमित प्रशिक्षण, पोषण, प्रशिक्षक र स्तरीय पूर्वाधारमा निरन्तर लगानी आवश्यक छ ।

ठाकुरबाबाबाट सुरु भएको खोखोको यात्रा अहिले विश्वकपको मञ्चसम्म पुगेको छ । तर, अन्तर्राष्ट्रिय सफलता हासिल गरिसकेको खेललाई अब टिकाइराख्ने चुनौती छ । स्थानीय तहले मात्रै सबै आवश्यकता पूरा गर्न नसक्ने भएकाले संघीय सरकारले पनि खोखोलाई प्राथमिकतामा राख्नुपर्ने स्थानीय जनप्रतिनिधि र खेलाडी बताउँछन् । विशेषगरी राष्ट्रपति रनिङ शिल्डमा खोखोलाई समावेश गर्ने, स्तरीय म्याट उपलब्ध गराउने, प्रशिक्षकको व्यवस्था गर्ने र खेलाडीको डाइटमा लगानी गर्ने हो भने बर्दियाले अझै धेरै अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सक्ने उनीहरूको विश्वास छ ।


Image

कमल पन्थी

पन्थी कान्तिपुर टीभीका बर्दिया संवाददाता हुन् ।