
सुनसरी । एक अर्ब रुपैयाँ लगानीमा निर्माण हुने भनिएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला । तर, सात वर्षमा खर्च भयो– करिब डेढ करोड रुपैयाँ ।
त्यही रकमबाट बन्यो मैदान वरिपरि तारजाली र पानी निकासका लागि ड्रेन । त्यसपछि न पिच बन्यो, न प्यारापिट । न खेलाडीका लागि आवश्यक पूर्वाधार थपिए । सात वर्षदेखि सुनसरीको धरानमा निर्माणाधीन क्रिकेट रंगशाला यही तारजालीभित्र रोकिएको छ ।
धरानमा क्रिकेट मैदान छैन, तर खेलाडी धेरै छन् । खेलाडीले खेल्ने मैदान अभाव देखेर एक दशकअघि स्थानीय बासिन्दा र क्रिकेटप्रेमीले व्यवस्थित क्रिकेट मैदान बनाउने योजना बनाए । धरान उपमहानगरपालिकाले साथ दिएपछि योजना प्रदेश सरकारसम्म पुग्यो ।
करिब सात वर्षअघि प्रदेश सरकारले एक करोड रुपैयाँ बजेट उपलब्ध गरायो । त्यसमा ५० लाख थपेर काम सुरु भयो । धरान १५ स्थित खोरिया बस्तीमा बन्न लागेको रंगशालामा कामको पहिलो चरण सकिएपछि बजेट रोकियो । क्रमागत योजनामा राखेर बजेट दिने भनिए पनि त्यसपछि थप रकम नआउँदा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणको योजना अलपत्र परेको हो ।
रंगशाला बन्ने योजना अघि बढेपछि स्थानीय खेलाडी र क्रिकेट पदाधिकारीमा उत्साह थियो । आफ्नै सहरमा अन्तर्राष्ट्रिय मापदन्डको मैदान बन्ने र ठूला प्रतियोगिता आयोजना हुने अपेक्षा थियो । तर, सुरु भएको सात वर्ष बित्दा पनि त्यो अपेक्षा पूरा हुन सकेको छैन ।
रंगशाला नबन्दा यसको प्रत्यक्ष असर खेलाडीमा परेको छ । अभ्यासका लागि अन्य मैदान खोज्नुपर्ने बाध्यता छ । प्रतियोगिता आयोजना गर्न पनि आयोजकले वैकल्पिक मैदानको भर पर्नुपर्छ । धरान उपमहानगरपालिकाका लागि करिब एक अर्ब रुपैयाँ लागतको आयोजना आफ्नै स्रोतबाट निर्माण गर्न सहज छैन । तर, स्थानीयस्तरबाट सुरु भएको योजना भएकाले प्रदेश र संघीय सरकारसँग समन्वय गरेर आयोजना अघि बढाउन सकिन्छ ।
संघीय सरकारतर्फ पनि यस्ता ठूला खेल पूर्वाधारलाई राष्ट्रिय प्राथमिकतामा राखेर प्रदेश र स्थानीय तहसँग सहकार्य गर्ने विकल्प छ । तर, तीन तहका सरकारबीच स्पष्ट जिम्मेवारी र लगानीको मोडालिटी तय हुन नसक्दा आयोजना अघि बढ्न सकेको छैन ।