एसियाडमा नेपाल : पदकको आशा, संघर्षको लामो इतिहास

भाद्र ७, २०८३ |सुवास रोकाया
एसियाडमा नेपाल : पदकको आशा, संघर्षको लामो इतिहास

काठमाडौं । सन् १९५१ मा भारतको नयाँ दिल्लीमा आयोजना भएको पहिलो एसियाली खेलकुद- एसियाडदेखि नै नेपालले यस बृहत् खेल महोत्सवमा आफ्नो सहभागिता जनाउँदै आएको छ । 

दोस्रो संस्करण बाहेक नेपालले एसियाडमा निरन्तर सहभागिता जनाउँदै विश्वसामु देशको पहिचान प्रस्तुत गर्दै आएको छ । अभाव र सीमित स्रोतसाधनका बाबजुद नेपाली खेलाडीहरूले आफ्नो रगत र पसिना बगाएर देशका लागि ऐतिहासिक पदक दिलाएका छन् ।

कस्तो छ त एसियाडमा नेपालको इतिहास ।

सन् १९५१ मा भारतको नयाँदिल्लीमा आयोजना भएको पहिलो संस्करणको एसियाडमा सहभागिता जनाएको नेपालले दोस्रोबाहेक सबै संस्करणमा सहभागिता जनाउँदै आएको छ । यस बृहत् खेल महोत्सवको इतिहासमा नेपालले हालसम्म कुल ३ रजत र २३ कास्य पदक जितेको छ । 

नेपालले पहिलो पदक भने दक्षिण कोरियाको सोलमा सन् १९८६ मा सम्पन्न १०औँ संस्करणमा जितेको थियो । यस संस्करण कुल १२ खेलमा सहभागी नेपालले बक्सिङ र तेक्वान्दोमा समान ४–४ कास्य पदक जितेको थियो । बक्सिङमा दलबहादुर रानामगर ६० केजी, मनोजबहादुर श्रेष्ठ ६३ दशमलव ५ केजी, सुशीलकुमार पोखरेल ७५ केजी र तुलबहादुर थापाले ९१ केजीमाथि कास्य पदक जितेका थिए । 

तेक्वान्दोमा विधान लामा फिनवेट ५० केजी मुनि, रामबहादुर घले बेन्टमवेट ५८ केजी मुनि, राजकुमार राई बेल्टरवेट ७६ केजी मुनि र राजकुमार बुढाथोकीले मिडिलवेट ८३ केजी मुनि नेपाललाई कास्य पदक दिलाएका थिए । यस संस्करणमा कुल ८ पदक जितेको नेपालका लागि यो सर्वाधिक सफल एसियाड समेत हो ।

१९९० मा बेइजिङमा सम्पन्न ११औँ एसियाडमा भने नेपालले एक मात्र पदक हात पार्यो । बक्सिङ ६७ केजी तौलमा चित्रबहादुर गुरुङले कास्य पदक जित्दै नेपाललाई पदकविहीन हुनबाट जोगाएका थिए ।

१२औँ एसियाड १९९४ मा नेपालले २ कास्य पदक हात पारेको थियो । हिरोसिमा, जापानमा सम्पन्न प्रतियोगितामा तेक्वान्दोबाट मानबहादुर शाहीले ५४ केजी मुनि फ्लाईवेट समूहबाट नेपाललाई कास्य दिलाएका थिए भने करातेको ६० केजीभन्दा माथि सीता राईले कास्य पदक जितेकी थिइन् । 

यसै संस्करण कराते पहिलो पटक एसियाली खेलकुदमा समावेश गरिएको थियो । थाइल्यान्डको ब्याङ्ककमा १९९८ मा सम्पन्न १३औँ एसियाडमा नेपालले १ रजत र ३ कास्य पदक जित्यो । जहाँ तेक्वान्दोकी सविता राजभण्डारीले नेपालका लागि पहिलो र ऐतिहासिक रजत पदक हात पारिन् । 

माहिला फेदरवेट ५५ केजी मुनि फाइनलमा चाइनिज ताइपेईकी चेन यी–आनसँग पराजित भए पनि सविता राजभण्डारीले नेपाललाई पहिलो रजत दिलाएकी थिइन् । तेक्वान्दोबाट २ कास्य र करातेबाट १ कास्य पदक प्राप्त भएको थियो । तेक्वान्दोकी सपना मल्लले ५१ केजी मुनि र किशोर श्रेष्ठले ५० केजी मुनी कास्य जितेका थिए । 

समरबहादुर गोलेले कराते ६० केजीमुनि कास्य जितेका थिए । दक्षिण कोरियाको बुसानमा २००२ मा सम्पन्न १४औँ एसियाडमा नेपालले जितेका तीनवटै पदक तेक्वान्दोबाट प्राप्त भएका थिए । दीपक विष्टले फेदरवेट ६३ केजीमुनि, रेनुका मगरले बेन्टमवेट ५५ केजी मुनी र रितुजिमी राईले लाइटवेट ५३ केजी मुनि नेपाललाई कास्य दिलाएका थिए ।

कतारको दोहामा सन् २००६ मा आयोजित १५औँ एसियाडमा पनि तेक्वान्दोले मात्र नेपालको साख जोगाएको थियो । नेपालले जितेका ३ वटै पदक तेक्वान्दोले दिलाएको थियो । दीपक विष्टले लगातार दोस्रो पटक कास्य जित्दै इतिहास रचेका थिए । आयशा शाक्यले महिला ५९ केजी मुनि र र मनिता शाहीले ६३ केजी मुनि कास्य जितेका थिए ।

ग्वाङ्झौ, चीनमा सम्पन्न १६औँ एसियाडमा बक्सिङले २० वर्षपछि पुन पदक दिलाएको थियो । दीपक महर्जनले ८१ केजीमा नेपालका लागि एकमात्र कास्य जितेका थिए । १७औँ एसियाड २०१४ मा पनि नेपालले एक पदक मात्र जित्न सक्यो । दक्षिण कोरियाको इन्चोनमा सम्पन्न प्रतियोगितामा विमला तामाङले करातेको महिला एकल कातामा नेपाललाई कास्य पदक दिलाएकी थिइन् ।

जकार्ता र पालेम्बाङ, इन्डोनेसिया भएको १८औँ एसियाड २०१८ मा पनि नेपालले १ पदक मात्र जित्न सक्यो । प्याराग्लाइडिङ पुरुष क्रसकन्ट्री विधामा नेपालले रजत पदक जितेको थियो । पहिलो पटक एसियाडमा समावेश गरिएको प्याराग्लाइडिङ टोलीमा विमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापा थिए । नेपालले एसियाली खेलकुदमा जितेको यो दोस्रो रजत थियो ।

१९औँ एसियाड २०२३ हाङचाउ, चीनमा सम्पन्न भएको थियो । जहाँ करातेमा एरिका गुरुङले २५ वर्षपछि नेपालका लागि ऐतिहासिक व्यक्तिगत रजत पदक जितिन् भने महिला कबड्डी टोलीले डेब्यु सहभागितामै कास्य पदक हात पार्यो ।

नेपालको एसियाली खेलकुदको समग्र इतिहासलाई नियाल्दा तेक्वान्दो सबैभन्दा सफल खेल प्रमाणित भएको छ, जसले १ रजत र १३ कांस्य पदक देशलाई दिएको छ यस्तै, बक्सिङ र करातेले पनि नेपालको पदक सूचीमा महत्त्वपूर्ण योगदान दिएका छन् ।

तर, सरकारले खेलकुद क्षेत्रलाई न्यून हिस्सामात्र बजेट विनियोजन गर्दा खेलाडीले तयारी नै राम्रोसँग गर्न पाउँदैनन् । केबल एक–डेढ महिनाको छोटो तयारीको भरमा प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ । पर्याप्त बजेट, उचित खेल पूर्वाधार र वैदेशिक प्रशिक्षणको अभाव हुँदाहुँदै पनि नेपाली खेलाडीहरूले मिहिनेत र दृढ इच्छाशक्तिकै बलमा एसियाली खेलकुदको मञ्चमा देशको झन्डा फहराइरहेका छन् । 

जापानमा आयोजना हुँने २०औं एसियाडमा नेपालबाट २२ खेलमा १ सय ३७ खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । के यस पटक नेपालको दोहोरो अंकमा पदक जित्ने लक्ष्य पूरा होला ? 


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।