काठमाडौं । फिफा विश्वकप २०२६ को महाकुम्भ अब आफ्नो निर्णायक मोडमा आइपुगेको छ ।
अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ स्टेडियम आज विश्वकप ट्रफीका लागि नेपाली समय अनुसार राति पौने १ बजे साविक विजेता अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेन आमनेसामने हुँदैछन् । एकातिर ३९ वर्षीय सुपरस्टार लियोनल मेस्सी छन्, जो आफ्नो विरासतलाई अर्को एउटा स्वर्ण अक्षरले सजाउन चाहन्छन् भने अर्कोतिर १९ वर्षीय जादुगर ल्यामिने यामल छन् ।
विश्व फुटबलको महाकुम्भ, फिफा विश्वकप २०२६ अब आफ्नो अन्तिम र निर्णायक मोडमा आइपुगेको छ। न्युजर्सीको मेटलाइफ स्टेडियम आज एउटा यस्तो ऐतिहासिक खेलको साक्षी बन्दैछ, जसले फुटबलको भविष्यलाई नयाँ परिभाषा दिनेछ । एउटा सुनौलो ट्रफी, तर दुई फरक सपना ।
एकातिर इतिहास रक्षा गर्दै विश्वफुटबलमा आफ्नो नयाँ इतिहास लेख्न खोजिरहेको अर्जेन्टिना छ भने अर्कोतिर नयाँ पुस्ताको उदयसँगै फुटबलको नयाँ युग सुरुवात गर्न लालायित स्पेन । आज इतिहास लेख्नका लागि केवल ९० मिनेट , वा सायद अलि बढी । यो केवल एउटा खेल मात्र होइन, यो दुई फुटबल संस्कृति र दुई फरक पुस्ताबीचको महासङ्ग्राम हो।
साविक विजेता अर्जेन्टिनाका लागि फाइनलसम्मको यो यात्रा कुनै फिल्मको कथाभन्दा कम रहेन । समूह 'जे' मा अल्जेरिया, अस्ट्रिया र जोर्डनलाई हराउँदै शतप्रतिशत नतिजाका साथ अघि बढेको अर्जेन्टिनाका लागि नकआउट चरण अग्निपरीक्षा सावित भयो ।
राउन्ड अफ ३२ मा केप भर्डे र क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई पाखा लगाउन अर्जेन्टिनाले अतिरिक्त समयसम्म पसिना बगाउनुपर्यो । राउन्ड अफ १६ मा इजिप्टविरुद्ध दुई गोलले पछि परेको अवस्था उल्ट्याउँदै जित निकाल्नु अर्जेन्टिनाको जुझारुपनको एउटा उत्कृष्ट नमुना थियो ।
सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी इङ्ल्यान्डविरुद्ध ८५ मिनेटसम्म पछि परेको अवस्थामा कप्तान लियोनल मेस्सीको जादुमयी प्रर्दशनले अर्जेन्टिनालाई लगातार दोस्रोपटक विश्वकपको फाइनलमा पुर्यायो । अहिलेसम्म १९ गोल गरिसकेको अर्जेन्टिना यस प्रतियोगिताकै सबैभन्दा घातक आक्रमणकारी टोली बनेको छ ।
अर्कोतर्फ, स्पेन एउटा यस्तो सुदृढ टोलीका रूपमा उभिएको छ, जसलाई रोक्न लगभग असम्भव देखिएको छ । समूह चरणमा केप भर्डेसँग गोलरहित बराबरीमा रोकिए पनि साउदी अरब र उरुग्वेलाई हराउँदै स्पेनले आफ्नो लय समात्यो । नकआउट चरणमा अस्ट्रिया, पोर्चुगल र बेल्जियमलाई पाखा लगाउँदै र सेमिफाइनलमा बलियो फ्रान्सलाई २-० ले पन्छाएर स्पेनले आफूलाई उपाधिको मुख्य दाबेदारका रूपमा उभ्यायो ।
पूरै प्रतियोगितामा मात्र एक गोल खाएको स्पेनको रक्षापङ्ति निकै मजबुत देखिएको छ । ६ वटा 'क्लिन सिट' को कीर्तिमानसहित स्पेन १६ वर्षपछि फेरि विश्व च्याम्पियन बन्न आतुर छ । इतिहासका हेर्दा यी दुई फुटबल महाशक्तिबीचको प्रतिस्पर्धा निकै सन्तुलित देखिन्छ ।
अहिलेसम्म भएका १४ आधिकारिक भेटमा अर्जेन्टिना र स्पेन दुवैले ६-६ खेल जितेका छन् भने दुई खेल बराबरीमा टुङ्गिएका छन् । विश्वकपको इतिहासमा भने यी दुई टोली ६० वर्षअघि सन् १९६६ मा मात्र भिडेका थिए, जहाँ अर्जेन्टिना २-१ ले विजयी भएको थियो ।
यो फाइनलको महत्व दुवैका लागि असीमित छ। अर्जेन्टिना सन् १९६२ मा ब्राजिलपछि लगातार दुईपटक विश्वकप जित्ने पहिलो टोली बनेर इतिहास रच्न चाहन्छ । अर्जेन्टिनाका लागि यो उसको चौथो विश्वकप उपाधि जित्ने अवसर हो भने स्पेन सन् २०१० को आफ्नो इतिहास दोहोर्याउँदै विश्व फुटबलमा नयाँ पुस्ताको प्रभुत्व कायम गर्न चाहन्छ ।
रोचक कुरा त के छ भने, यी दुई टोली यसै वर्ष 'फिनालिस्सिमा' मा भिड्नुपर्ने थियो, तर क्षेत्रीय अस्थिरताका कारण रद्द भएको सो खेलको बदला अब विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा हुँदैछ । विश्वभरका करोडौं आँखाहरू आज मेटलाइफ स्टेडियममा केन्द्रित हुनेछन् ।
जहाँ एउटा टोलीले आफ्नो इतिहास रक्षा गर्ला वा अर्कोले नयाँ साम्राज्यको जग बसाल्लारु आज एउटा राष्ट्रले विजयोत्सव मनाउनेछ भने अर्कोका लागि यो रात एउटा अधुरो सपना मात्र बन्नेछ । यस अविस्मरणीय र रोमाञ्चक विश्वकपको अन्तिम अध्याय लेखिन अब केही समय मात्र बाँकी छ।
सम्बन्धित समाचार :