
काठमाडौं । इंग्लिस प्रिमियर लिगको आगामी सिजन शुक्रबार रातिबाट सुरु हुँदैछ ।
नेपालमा लगातार दोस्रो पटक कान्तिपुर म्यानक्सबाट प्रत्यक्ष प्रसारण हुन लागेको लोकप्रिय फुटबल लिगमा यसपालिको ट्रान्फर मार्केटमा पैसाको वर्षा भएको छ । जुन १५ मा खुलेको समर ट्रान्फर सेप्टेम्बर १ मा बन्द हुँदैछ । तर, बजार बन्द हुन लगभग दुई साता बाँकी रहँदा प्रिमियर लिग क्लबहरूले खेलाडी खरिदमा २ अर्ब १४ करोड पाउन्ड खर्च गरिसकेका छन् ।
फुटबल ट्रान्सफर्स डटकमका संस्थापक पल म्याकडोनाल्डको तथ्यांकअनुसार प्रिमियर लिग क्लबहरुले जारी ट्रान्फर विन्डोमा खर्च गरेको २ अर्ब १४ करोड पाउन्ड सन् २०२४ को १ अर्ब ९८ करोड, २०२२ को १ अर्ब ९४ करोड, २०२१ को १ अर्ब १३ करोड र २०२० को १ अर्ब ३२ करोड पाउन्डको सम्पूर्ण समर ट्रान्फर विन्डोभन्दा बढी हो ।
यसअघि यसभन्दा बढी सन् २०२३ मा २ अर्ब ३६ करोड र गत सिजन कीर्तिमानी ३ अर्ब १४ करोड पाउन्ड खर्च भएको थियो । त्यसैले यसपटक पनि नयाँ कीर्तिमान बन्ने सम्भावना कायमै छ । प्रिमियर लिग र युरोपका अन्य ठूला लिगबीचको आर्थिक अन्तर यसपालि अझ स्पष्ट देखिएको छ ।
प्रिमियर लिग क्लबहरूले २ अर्ब १४ करोड पाउन्ड खर्च गर्दा इटालीको सिरी आले ७८ करोड, स्पेनको ला लिगाले ५१ करोड ५० लाख, जर्मनीको बुन्डेसलिगाले ५० करोड ५० लाख र फ्रान्सको लिग वानले ४१ करोड २० लाख पाउन्ड खर्च गरेका छन् । अर्थात् प्रिमियर लिगले मात्र युरोपका यी चार प्रमुख लिगले संयुक्त रूपमा गरेको खर्चभन्दा पनि बढी रकम खेलाडी खरिदमा लगाइसकेको छ ।
चेल्सीले यस समरमा सबैभन्दा बढी ३४ करोड ८० लाख पाउन्ड खर्च गरिसकेको छ । त्यसपछि टोटनहम २२ करोड ८० लाख पाउन्डसहित दोस्रो स्थानमा छ । आर्सनल र म्यानचेस्टर सिटीले समान १५ करोड १० लाख पाउन्ड खर्च गरेका छन् ।
चेल्सी, टोटनहम र म्यानचेस्टर सिटीले यस पटक आफ्नै क्लब रेकर्ड पनि तोडेका छन् । ठूला क्लब मात्र होइन, एस्टन भिल्ला, ब्रेन्टफोर्ड, ब्राइटन र लिड्स युनाइटेडले पनि क्लब इतिहासकै सबैभन्दा महँगो खेलाडी अनुबन्ध गरेका छन् । नयाँ सिजनका लागि प्रिमियर लिगमा बढुवा भएका कोभेन्ट्री सिटी, हल सिटी र इप्सबीच टाउनले पनि ठूलो रकम खर्च गरेका छन् ।
सन् २०२६ को सुरुदेखि अहिलेसम्मको कारोबार हेर्दा प्रिमियर लिगका २० मध्ये ११ क्लबले आफ्नै क्लब रेकर्ड तोडेका छन् । यसपालिको ट्रान्सफर मार्केटको अर्को उल्लेखनीय पक्ष प्रिमियर लिग क्लबहरूबीचमै भइरहेको ठूलो कारोबार हो । एक प्रिमियर लिग क्लबबाट अर्को प्रिमियर लिग क्लबमा खेलाडी सरुवा गर्न अहिलेसम्म करिब ७८ करोड ५० लाख पाउन्ड खर्च भइसकेको छ ।
यस समरमा भएका १२ ठूला खेलाडी खरिदमध्ये आठवटा कारोबार प्रिमियर लिगभित्रै भएका छन् । गत सिजन पनि प्रिमियर लिगभित्रका खेलाडी खरिदमा १ अर्ब २९ करोड पाउन्ड खर्च भएको थियो । जुन सन् २०१६ पछिकै सबैभन्दा ठूलो रकम हो ।
आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र टोटनहम गरी प्रिमियर लिगका तथाकथित ‘ठूला छ’ क्लब आन्तरिक कारोबारमा सबैभन्दा सक्रिय देखिएका छन् । यी क्लबले यस समरमा मात्रै अन्य प्रिमियर लिग क्लबबाट खेलाडी भित्र्याउन ५४ करोड ६५ लाख पाउन्ड खर्च गरिसकेका छन् ।
गत सिजन यो रकम ६४ करोड ७० लाख पाउन्ड पुगेको थियो । गत सिजन प्रिमियर लिग क्लबहरूले खर्च गरेको ३ अर्ब १४ करोड पाउन्डको कीर्तिमान अझै यसपालिको २ अर्ब १४ करोड पाउन्डभन्दा १ अर्ब पाउन्डले अगाडि छ । त्यसैले नयाँ कीर्तिमान बन्ने निश्चित भइसकेको छैन । तर, ट्रान्सफर मार्केट बन्द हुन अझै समय बाँकी रहेकाले आगामी दुई सातामा हुने ठूला कारोबारले तस्बिर बदल्न सक्छ ।