
जापान । राम्रो शिक्षा, सुरक्षित भविष्य र आर्थिक अवसरको खोजीमा हरेक वर्ष ६४ हजार नेपाली विद्यार्थी जापान जाने गरेका छन्।
विदेशिने विद्यार्थीको एउटा प्रमुख गन्तव्य हो जापान। तर, सपनाको यो यात्राभित्र लुकेको यथार्थ भने निकै पीडादायी छ। जापानमा नेपाली विद्यार्थी बढिरहँदा उनीहरूको मृत्यु, आत्महत्या, सम्पर्कविहीन हुने घटना र मानसिक दबाबको विषय पनि गम्भीर बन्दै गएको छ।
नवलपरासीका प्रेम शर्मा अहिले जापानमा सम्पर्कविहीन भएका उनका भाइ रोशनको खोजिमा छन्। ६ वर्षदेखि सम्पर्कविहीन भएका उनी कहाँ छन् ? कता छन् ? अतोपतो नभएपछि परिवार चिन्तित छन्।
उनी त प्रतिनिधि पात्र मात्रै हुन्। उसो त राम्रो शिक्षा, सुरक्षित भविष्य र कमाइको अवसर खोज्दै हरेक वर्ष ६४ हजार हाराहारीमा नेपाल विद्यार्थी जापान आउँछन् । तर, यहाँ विद्यार्थीले हप्तामा २८ घन्टा मात्र काम गर्न पाउने नियम छ । अन्यथा इमीग्रेसन कार्यालयले ३० दिनेको भिसा दिँदै देश निकाला गर्छ ।
पछिल्लो सार्वजनिक विवरणअनुसार ३ सय ४६ जनालाई देश निकाला गरेको छ । मुख्य रुपमा पढाइ तथा छात्रबास शुल्कमा गैरकानुनी अनियमतिता, अस्वभाविक शुल्क, काम गर्ने अधिकार हनन, जातिय र क्षेत्रीय अपमान, आर्थिक बोझ, मानसिक यातनालगायत छन् ।
इमीग्रेसन सर्भीस एजेन्सीका अनुसार २०२५ मेसम्म जापानमा नेपाली विद्यार्थीको संख्या १ लाख २ सय ३९ पुगेको छ । जुन अघिल्लो वर्षको ६४ हजार ८ सय १६ भन्दा ३५ दशमलब ३ प्रतिशत बढी हो । त्यसमध्ये जापानी भाषा शिक्षण संस्थामा मात्रै ४४ हजार ६ सय ३२ नेपाली विद्यार्थी छन् ।
विद्यार्थी बढेसँगै नेपालमा जापान पठाउने कन्सल्टेन्सीको व्यापार पनि फस्टाएको छ । तर, विद्यार्थीको शैक्षिक भविष्यभन्दा व्यापारिक स्वार्थलाई प्राथमिकता दिँदा जापान आएका विद्यार्थीहरू समस्यामा पर्ने दर पनि बढेको छ।
कन्सल्टेन्सीहरूले भाषा कक्षा, कलेज छनोट, आवेदनदेखि भिसा प्रक्रियासम्मको सेवा दिने गरेका छन् । तर, कतिपय कन्सल्टेन्सीले जापानमा पढाइभन्दा पार्टटाइम काम र कमाइको सपना बढी बेचिरहेको विद्यार्थीको आरोप छ । दूतावाससँगको समन्वयमा एनआरएनए जापानले मृत्यु भएका नेपालीको शव नेपाल पठाउने प्रक्रियामा समन्वय गर्ने गरेको छ। तर, यो समाधान पक्कै होइन।
भाषा स्कुलमा महँगो शुल्क, घरभाडा, दैनिक खर्च, पार्टटाइम कामको दबाब र अध्ययन तथा कामबीचको सन्तुलन मिलाउन विद्यार्थीले सकेका छैनन ।