
काठमाडौं । एसियाली खेलकुद आउन अब करिब एक महिना बाँकी छ।
यो समयमा एथ्लेटिक्सका खेलाडीसामु यसअघि भएका अभ्यासमा सिकेका कुरालाई कायम राख्दै खेलका लागि मानिसक रुपमा आफूलाई तयार गर्ने समय अएको छ । पहिलो पटक मेडलको सम्भावना भएको खेल भनेर व्याख्या गरिएपछि खेलाडी आफूमाथिको जिम्मेवारी पूरा गर्न कसिएर लागेका छन् ।
यसपटक एसियाली खेलकुदमा सहभागी मात्रै बनेर फर्किने परम्परागत लक्ष्यमा छैनन् यी खेलाडी । हरेक दिन बिहान आफ्नो विधामा पूरा परिश्रमका साथ दौडिरहेका उनीहरूको लक्ष्य छ – कम्तीमा पनि कास्य पदक जित्ने । एसियाली खेलकुदमा मध्यम दूरीका केही खेलाडी कास्य पदक जित्न सकिने सम्भावित समयभन्दा चार पाँच सेकेन्डले मात्रै पछि छन् ।
इतिहासमै पदक जित्न नसकेको एथ्लेटिक्समा यी खेलाडी आफ्नो पुस्तालाई स्वर्णिम पुस्ता बनाउन चाहन्छन् । नेपालबाट एसियाडमा पुरुषतर्फ सोमबहादुर कुमाल, मुकेशबहादुर पाल, राजन रोकाया र खड्काबहादुर खड्का सहभागी छन् । त्यसैगरी महिलातर्फ सन्तोषी श्रेष्ठसँगै पूर्णलक्ष्मी न्यौपाने सहभागी छन् ।
उनीहरुलाई उत्तम खत्रीले प्रशिक्षण दिइरहेका छन् । यसपटक सरकारले एथ्लेटिक्सलाई मेडलको सम्भावित खेल भनेर राखेको छ । सरकारको यो योजना खेलाडीले अभ्यासमा लागू पनि गरेका छन् । उनीहरु हरेक अभ्यासमा पहिलेकोभन्दा धेरै दिन कोसिस गरिरहेका छन् ।
खेलाडीले आफ्नो बिधामा रहेका अन्य खेलाडीको समय हेरेर अभ्यास गरिरहेका छन् । जसले वैज्ञानिक अभ्यास गर्न प्रेरित गरेको छ । अभ्यासमा केन्द्रित सरकारले खेलाडीको रिकभरीको बारेमा भने खासै सोचेको छैन । दशरथ रंगशालामा अभ्यासका समयमा अनावश्यक मानिसको उपस्थितले यी खेलाडीलाई डिसटर्ब त गरेको छ नै अभ्यासस्थलका बारेमा राष्ट्रिय खेलकुद परिषद् कति गैर जिम्मेवार छ भन्ने पनि संकेत गरेको छ ।