
चितवन । चितवनको भरतपुर महानगरपालिका-१५, मा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको भौतिक प्रगति ५० प्रतिशत पुगेको छ ।
रंगशालामा मैदान बनाउन काम सुरु भएको छ । वर्षाअघि नै मैदानमा बर्मुडा घाँस रोप्ने तयारी छ । सम्झौताअनुसार निर्माणको काम सक्न अब ९ महिना मात्र बाँकी छ । भरतपुर महानगरपालिकाले बागमती प्रदेशको साझेदारीमा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मैदान निर्माणको काम सुरु गरिएको छ ।
वर्षायाममा सुरु हुनअघि नै मैदानमा बर्मुडा घाँस रोप्ने तयारी छ । त्यसका लागि अहिले मैदान सम्याउने, पानी निकासका लागि ड्रेनेज पाइप राख्ने काम भइरहको छ । नयाँ प्रविधिमा आधारित रहेर स्तरीय मैदान निर्माण भइरहेको हो ।
२०८१ असार २३ गते भरतपुर महानगरपालिका र हिमालयन कालिञ्चोक बीबीआर जेभीले सम्झौता गरेपछि भदौदेखि रंगशालाको निर्माणको काम अघि बढेको थियो । त्यसअघि धुर्मुस-सुन्तली फाउण्डेसनले आर्थिक अभाव देखाउँदै रंगशाला निर्माणबाट हात झिकेको थियो ।
त्यसपछि रंगशाला लामो समय अलपत्र रह्यो । महानगरले बागमती प्रदेश सरकारसँग मिलेर ७८ करोड ५० लाख लागतमा रंगशाला निर्माण अघि बढाएपछि अहिले प्याराफिट निर्माण, दुईवटा भीआइपी टावर र मैदान निर्माण निर्माणको काम भइरहेको हो ।
प्याराफिटका चारमध्ये तीनवटा ब्लक बनिसकेका छन् । भीआइपी टावरको दुई तलाकै ढलान सम्पन्न भइसकेको छ भने भित्रि कामहरू पनि सकिनै लागेका छन् । अहिले समग्रमा भौतिक प्रगति ५० प्रतिशत पुगेको छ । पहिलो चरणको कामको सम्झौताअनुसार रंगशालामा १५ हजार क्षमताको प्याराफिट, अन्तर्राष्ट्रिय मापदण्डको मैदान र पिच, दुईवटा भीआइपी टावर, स्कोर बोर्ड रहने छ ।
यो सम्झौताको निर्माण सम्पन्न हुँदा रंगशालामा प्याराफिटमा कुर्सी र फ्लड लाइट हुने छैन । रंगशालालाई पूर्ण अन्तर्राष्ट्रियस्तरको बनाउन फ्लड लाइट र प्याराफिटमा कुर्सी आवश्यक पर्ने भएकाले ती पूर्वाधार निर्माणका लागि महानगरले संघीय सरकारको सहयोग चाहेको छ ।
त्यसका लागि सबै इस्टिमेटसहित छिट्टै आउँदो आर्थिक वर्ष २०८३/८४ का लागि संघीय सरकारसँग बजेट माग गर्ने महानगरको तयारी छ । सम्झौताअनुसार रंगशाला निर्माण कम्पनीले आउँदो पुस मसान्त भित्रमा रंगशाला निर्माण सम्पन्न गरी महानगरलाई बुझाउनुपर्ने छ । तर, त्यसका लागि रंगशाला निर्माणको गतिमा अझै रफ्तार बढाउन आवश्यक छ ।