
मेसी
सन् २०१६ को जुन २६, कोपा अमेरिका फाइनल । अर्जेन्टिनाले उपाधिका लागि चिलीसँग प्रतिस्पर्धा गरेको थियो । खेल पेनाल्टीमा पुग्यो । लियोनल मेसी पेनाल्टीमा चुके र अर्जेन्टिना फेरि उपविजेतामा सीमित बन्यो ।
लगातार तीन मुख्य प्रतियोगिताको फाइनलमा पराजित भएपछि मेसीलाई लाग्यो, अब पुग्यो म यही रोकिन्छु । अर्थात् स्तब्ध मेसीले राष्ट्रिय टिमबाट संन्यासको घोषणा गरे । तर, समर्थक मेसीको राष्ट्रिय टिमबाट दुखद बिदाइ चाहँदैनथे । यो घटनाले मेसी जति विक्षिप्त भए त्योभन्दा सयौं गुणा बढी उनका समर्थक ।
आज मेसी, विश्व फुटबलमा महान् खेलाडीका रुपमा परिचित छन् । उनले देखेका प्रायः सबै सपना पूरा भए । तर, के लियोनल मेसीले हासिल गरेको उचाइ यति सजिलै प्राप्त भएको हो ?
सफलताका सिँढी चढ्दै गर्दा कति पटक लडेँ, अनि फेरि उठे ? एकैछिन मेसीको करिअरलाई फर्केर हेरौं ।
अर्जेन्टिनाको रोजारियोमा जन्मिएको एउटा बालकको पहिलो प्रेम बन्यो फुटबल । देशको निलो जर्सी लगाएर देशको प्रतिनिधित्व गर्ने सपना उसले देख्यो । लक्ष्य पुग्ने दृढ संकल्पसहित अघि बढिरहेका बेला एउटा यस्तो परिस्थिति आउँछ, जसले उनलाई देश छोड्न बाध्य पार्छ ।
१३ वर्षको उमेरमा पत्ता लाग्छ मेसीलाई ग्रोथ हार्मेन डिफिसियन्सी छ । यो रोग लाग्नुको भनेको शरीरको विकासमा सुस्तता आउनु हो । महंगो उपचार खर्च धान्ने स्थितिमा परिवार थिएन, उनले खेलिरहेको क्लबले पनि सहयोग गरेन । अधिकांश अर्जेन्टाइन जस्तै उज्वल भविष्यको खोजीमा मेसीको परिवार स्पेन लाग्छ । अनि भेट हुन्छ बार्सीलोना र मेसीको ।
यहीबाट हुन्छ एउटा स्वर्णिम युगको सुरुआत । मेसीको फुटबल जीवन सिनेमाको कथाजस्तै लाग्छ । गन्तव्यमा पुग्नुभन्दा ठूलो यात्रा जारी राख्नु महत्वपूर्ण हो भन्ने पाठ मेसीको कथाले सिकाउँछ । भनिन्छ मेसी फुटबल खेल्नकै लागि जन्मिएका हुन् । त्यसैले त क्याटालन क्लबको युवा टिममा तुरुन्तै उनी सबैको नजरमा परे ।
समर्थकले उनलाई नाम दिए ला पुग्ला अर्थात् द फ्ली । यसको अर्थ हुन्छ दुब्लो, पातलो र होचो । उनलाई स्पेनको राष्ट्रिय टिमबाट खेलाउने प्रयास पनि सुरु भए । तर, मेसी र उनको परिवारले आफ्नो जन्मभूमिप्रतिको मायालाई भुल्न सकेन । आफ्नो देशप्रतिको लगावले मेसीलाई अन्य राष्ट्रको जर्सी लगाउने मोह जागेन ।
सानै उमेरमा दिएको अन्तर्वार्तामा मेसीले अर्जेन्टिनाबाट खेल्ने इच्छा रहेको बताएका थिए । अर्जेन्टिना फुटबल संघले मेसीलाई अन्डर-२० टिममा समावेश गर्यो । १७ वर्ष पुगेको केही दिनपछि सन् २००४, जुन १९ मा उनले पहिलो पटक राष्ट्रिय टिमको जर्सी लगाए ।
डिएगो म्याराडोनाको उत्तराधिकारी खोजिरहेका अर्जेन्टाइन समर्थक मेसीलाई सिनियर टीमबाट खेलेको हेर्न प्रतिक्षारत थिए । २००५, अगस्ट १७ मा हंगेरीविरुद्धको मैत्रीपूर्ण खेलबाट मेसीको डेब्यू भयो । तर, उनको डेब्यू सुखद रहेन । सब्स्टिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेको दुई मिनेटमै रातो कार्ड पाएर मैदान बाहिरिए ।
रातो कार्डले मेसीको महान खेलाडी बन्ने यात्रालाई रोकेन । उनले कहिल्यै पछाडी फर्किएर हेर्नु नै परेन । २००८ को बेइजिङ ओलम्पिकमा मेसीको टिमले स्वर्ण पदक जित्यो । असाध्यै माया गर्ने खेलाडीमा पर्ने मेसीले कुनै बेला घृणाको पनि सामजना गर्नुपर्यो । तर, घृणालाई शक्तिमा बदल्ने साहस कहाँबाट पाए होलान् उनले ?
बार्सीलोनाबाट सबै उपाधि र अवार्ड जितेका मेसीले किन अर्जेन्टिनाका लागि केही गर्न सकेनन् ? के उनी स्वार्थी हुन् ? उनलाई देशको माया छैन ? सन् २०१४ मा विश्वकप ब्राजिलमा फर्कियो । अर्जेन्टिनाको चीर प्रतिद्वन्द्वी ब्राजिलमा सबै ठिक चलिरहेको थियो । तर, जर्मनीको योजना अर्के थियो ।
फाइनलमा जर्मनीसँग पराजित भएपछि अर्जेन्टिनाले २८ वर्षदेखिको विश्वकप उपाधि जित्ने सपना चकनाचुर भयो । २०१५ र २०१६ मा कोपा अमेरिकामा पनि मेसीको टिम दोस्रोमा सीमित भयो । सायद मेसीको करिअरको सबैभन्दा कठिन समय नै यही थियो ।
मेसीले खेल सुरु हुनुअघि राष्ट्रिय गान पनि गाउँदैनन् भन्नेसम्मको आरोप लाग्यो । त्यसैले होला २०१६ मा मेसीले हरेस खाए । अनि भने– अब म सक्दिनँ । संन्यास घोषण गरे । फेरि पनि उनको संन्यास कसैलाई चित्त बुझेकै थिएन । समर्थक र फुटबल संघले बिन्ती गर्यो फिर्ता लिन ।
मेसी आफ्नै रफ्तारमा अघि बढिरहेका थिए । सायद एउटा बिन्दुमा मेसीलाई पनि लाग्यो, हार मान्नुभन्दा ठुलो प्रयास गर्नु हो – ‘म आउने पुस्तालाई हरेस खाएर प्रतिस्पर्धाबाट भागेको मेसीको कथा सुनाउन चाहन्नँ । निलो रंगको जर्सीलाई मैले न्याय गर्नु पर्छ । त्यो सानो मेसीले देखेको सपना मार्ने अधिकार मलाई छैन ।’
उनले संन्यास फिर्ता लिए र फेरि अर्जेन्टिनाको नेतृत्व सम्हाल्ने निर्णय गरे । अन्ततः मेसीले २०२१ मा कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई दिलाए । २०२४ को कतार विश्वकप मेसीको करिअरको सुन्दर क्षण हो । फाइनलमा फ्रान्सलाई हराएर फिफा विश्वकप उपाधि जितेपछि मेसीले जित्न बाँकी नै केही रहेन ।
२०२४ मा दक्षिण अमेरिकी राष्ट्रले कोपाको उपाधि रक्षा गर्यो । २०२६ को विश्वकप फाइनल जित्दै विश्राम लिने मेसीको योजना थियो । तर, स्पेन बाधक बन्यो । तर, पनि ३९ वर्षका मेसीले गरेको प्रदर्शन, युवा पुस्ताका लागि प्रेरणा बन्यो । ओजपूर्ण मेसीलाई समर्थकले गर्ने माया लोभलाग्दो छ । तर, यो माया उनले संघर्ष, धैर्य र मिहिनेतले कमाएका हुन् ।
विश्वकपको फाइनल हारेको दुई दिनपछि नै संन्यास पत्र लेखेका थिए, तर केही सातासम्म सार्वजनिक गरेनन् । यो बीचमा उनले आफ्ना बुबा जर्जलाई गुमाए । बुबाको निधनले स्तब्ध भएका मेसीले अब बुट लगाएर जादु देखाउने ऊर्जा आफूसँग नरहेको बताए ।
आखिर उनी पनि मानिस नै त हुन् । मेसीले चाहेजस्तो बिदाइ त भएन तर जो कोहीले मेसीले जस्तो सफलता पनि पाउँदैनन् । २ सय ७ क्याप जित्दै १ सय २५ गोल गरेपछि उनले राष्ट्रिय टिमबाट बिश्राम लिने निर्णय गरेका हुन् । अर्जेन्टिनाका लागिसर्वाधिक गोल गर्ने खेलाडी मेसीले इन्टर मायामीबाट भने खेल्नेछन् ।
मेसीले आफनो संन्यास पत्रमा लेखेका छन् – फाइनलपछिको यो अवधिमा धेरै विचार गरेपछि जानकारी गराउन चाहन्छु– म राष्ट्रिय टिमबाट संन्यास लिँदैछु । यो एउटा यस्तो निर्णय हो जसले मेरो आत्मालाई दुःखी बनायो, दुःखी बनाइराख्ने छ । तर, मैले बुझे कि सही समय यही हो । मैले सदैव राष्ट्रिय टिमका लागि सबथोक दिए– पछिल्ला केही वर्षयता मात्र होइन, सफलता प्राप्त गर्नुअघि पनि । यो जर्सीका लागि सधैँ लडेँ र सबथोक दिए ।