एसियाडमा नेपाली टेबल टेनिस : पदकको चुनौती, वरीयता सुधारको लक्ष्य

भाद्र १२, २०८३ |सुवास रोकाया|अभय बस्नेत
एसियाडमा नेपाली टेबल टेनिस : पदकको चुनौती, वरीयता सुधारको लक्ष्य

काठमाडौं । एसियाली खेलकुदमा नियमित सहभागिता जनाउँदै आए पनि नेपाली टेबल टेनिसले अहिलेसम्म पदक जित्न सकेको छैन । 

जापानमा आयोजना हुने २०औं एसियाली खेलकुदमा नेपालबाट तीन पुरुष र तीन महिला गरी ६ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । एसियाका शीर्ष खेलाडीसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौतीबीच नेपाली टोलीको मुख्य लक्ष्य पदकभन्दा वरीयता सुधार र उत्कृष्ट प्रदर्शनमा केन्द्रित छ ।

पछिल्लो चार दशकको कुरा गर्दा एसियाली खेलकुदअन्तर्गत टेबल टेनिसमा नेपालले नियमित रुपमा सहभागिता जनाउँदै आएको छ । तर, हालसम्म पदकको नजिक भने पुग्न सकेको छैन । जापानको आइची-नागोयामा हुने २०औं एसियाली खेलकुदमा पनि नेपाली टोलीले बलिया राष्ट्रविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै वरीयता सुधार गर्ने लक्ष्य राखेको छ ।

यसपटक तीन पुरुष र तीन महिला गरी ६ खेलाडीले नेपालको प्रतिनिधित्व गर्दैछन् । नेपालले एकल पुरुष तथा महिला, टिम पुरुष र महिला तथा मिक्स डबल्समा प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा संयोग कपाली, रुविन महर्जन र गणञ्जय दहाल तथा महिलामा नविता श्रेष्ठ, इभाना थापा र योङ्गी पौडेलले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

याङ्गी र गणञ्जयबाहेक अरु खेलाडीसँग एसियाली खेलकुदको अनुभव छ भने संयाेग र योङ्गी हालै दक्षिण कोरियामा प्रशिक्षण गरेर फर्किएका छन् । विश्व वरीयताका शीर्ष खेलाडीहरूको बाहुल्य रहेको एसियामा नेपाली टोलीका लागि चुनौती ठूलो छ । नेपालका खेलाडीको वरीयता पनि ३०० देखि ५०० को बीचमा छ ।

त्यसैले हरेक खेलमा प्रतिस्पर्धात्मक प्रदर्शन गर्नु नै टोलीको मुख्य लक्ष्य बनेको छ । तयारीका हिसाबले भने नेपाली टोलीले पर्याप्त समय पाएको छैन । प्रशिक्षण सुरु गरेको एक महिना मात्रै भएको छ । अहिले खेलाडीहरू लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा दैनिक तीनदेखि चार घण्टासम्म अभ्यास गरिरहेका छन् । 

अब नेपाली टिमको अन्तिम तयारी थाइल्यान्डमा हुनेछ । टोलीले सेप्टेम्बर १ देखि १५ सम्म बैंककमा प्रशिक्षण गरेर जापान प्रस्थान गर्नेछ । पदकको सम्भावना कठिन भए पनि नेपाली टोली दबाबभन्दा प्रदर्शनलाई प्राथमिकता दिँदैछ । बलिया एसियाली राष्ट्रविरुद्धको प्रतिस्पर्धा, वरीयता सुधार र आगामी अन्तर्राष्ट्रिय यात्राका लागि अनुभव, एसियाली खेलकुदका लागि नेपाली टेबल टेनिसको मिसन यही हो । 


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।

Image

अभय बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजनको स्पोर्ट्स ब्युरोमा कार्यरत छन् ।