
काठमाडौं । मलेसियामा आइतबारदेखि एसीसी पुरुष प्रिमियर कप सुरु हुँदैछ ।
एसिया कप छनोटको आधारसमेत रहेको प्रिमियर कपमा नेपाल च्याम्पियन बन्दै दोस्रो पटक एसिया कपमा स्थान बनाउने लक्ष्यमा छ । तर, यसपटक भने परिस्थिति फरक छ । रोहित पौडेलको स्थानमा सन्दीप लामिछानेले ओडीआई टोलीको नेतृत्व सम्हाल्नेछन् ।
उनको कप्तानीमा नेपाल नयाँ संरचना र नयाँ संयोजनसहित प्रतियोगितामा प्रस्तुत हुँदैछ । २०२३ मा घरेलु मैदानमा सम्पन्न एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपालले पहिलोपटक एसिया कपमा स्थान बनाएको थियो । यसपटक भने परिस्थिति फरक छ । नेतृत्व फेरिएको छ र मैदानमा उत्रने खेलाडीहरु पनि केही हदसम्म फेरिएका छन् । तर, नेपालको लक्ष्य भने उपाधि जित्ने र लगातार दोस्रोपटक एकदिवसीय एसिया कप खेल्ने नै हो ।
रोहित पौडेलको स्थानमा सन्दीप लामिछानेले ओडीआई टोलीको नेतृत्व सम्हाल्नेछन् । उनको कप्तानीमा नेपाल नयाँ संरचना र नयाँ संयोजनसहित प्रतियोगितामा प्रस्तुत हुँदैछ । टोलीमा व्यापक फेरबदल गरिएको छ । कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, विनोद भण्डारी, सोमपाल कामी र नन्दन यादव टोलीबाट बाहिरिँदा देव खनाल, सन्दीप जोरा, बसिर अहमद र शेर मल्लले एकदिवसीय टोलीमा पुनरागमन गरेका छन् ।
नेपालको स्पिन विभागबाहेक लगभग हरेक क्षेत्रमा परिवर्तन देखिने छ । आसिफ शेखसँगै अर्जुन कुमालले नेपालको इनिङ्स सुरु गर्ने सम्भावना छ । देव खनाल र इशान पाण्डेले ओपनिङसंगै शीर्ष क्रममा विकल्प दिनेछन् । मध्यक्रममा रोहित पौडेल, सन्दीप जोरा र दीपेन्द्रसिंह ऐरीको जिम्मेवारी महत्वपूर्ण हुनेछ भने बसिर अहमद र गुल्सन झाले तल्लो क्रममा टोलीलाई मजबुत बनाउनेछन् ।
मुख्य फास्ट बलरका रुपमा करण केसी र हेमन्त धामी मात्र टिममा छन् । गुल्सनले अलराउन्डरका रूपमा तीव्र गतिको बलिङमा साथ दिनेछन् । स्पिन बलिङमा भने विकल्पको कमी छैन । कप्तान सन्दीप लामिछानेसँगै ललित राजवंशी र शेर मल्ल प्रमुख हतियार हुन् ।
दीपेन्द्रसिंह ऐरी, बसिर अहमद र रोहित पौडेलले पनि आवश्यक पर्दा स्पिन आक्रमणमा योगदान दिन सक्छन् । प्रिमियर कपअन्तर्गत नेपाल समूह ‘ए’ मा छ । जहाँ उसले बहराइन, साउदी अरेबिया, मलेसिया र हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले सोमबार बहराइनसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । ५० ओभरको अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टोली पहिलोपटक आमनेसामने हुँदैछन् । भदौ १८ गते नेपालले मलेसियाको सामना गर्नेछ । २०२३ को प्रिमियर कपपछि पहिलोपटक ५० ओभरको क्रिकेटमा भेट हुन लागेका यी दुई टोलीले प्रतियोगिताअघि एक अर्काविरुद्ध अभ्यास सिरिज खेलेका थिए ।
त्यसपछि भदौ २१ गते नेपालले साउदी अरेबियाको सामना गर्नेछ । १४ वर्षपछि ५० ओभरको क्रिकेटमा यी दुई टोली आमनेसामने हुन लागेका हुन् । २०१२ को एसीसी ट्रफीमा नेपालले साउदीलाई ९ विकेटले पराजित गरेको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले भदौ २३ गते हङकङसँग खेल्नेछ ।
२०१८ पछि पहिलोपटक लिस्ट 'ए' क्रिकेटमा दुई टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो । समूह ‘बी’ मा कुवेत, ओमान, कतार, सिंगापुर र यूएई छन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । नेपालले समूह चरण पार गर्न सके सम्भावित सेमिफाइनलमा यूएई वा ओमानमध्ये एकसँग हुन सक्छ ।
यी दुवै टोली नेपाली क्रिकेटका परिचित प्रतिद्वन्द्वी हुन् । त्यसैले समूह चरणपछि पनि नेपालको यात्रा सहज हुने छैन । प्रतियोगिताको विजेताले २०२७ जुन जुलाईमा बंगलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा स्थान बनाउनेछन् ।