शव पहिचानका लागि चितवन पुगेका आफन्तलाई निःशुल्क आवास र खाना

भाद्र १६, २०८३ |राजु चौधरी
शव पहिचानका लागि चितवन पुगेका आफन्तलाई निःशुल्क आवास र खाना

चितवन । रसुवा बाढीमा परि बेपत्ता भएकाहरूको शव चितवनमा फेला पर्न थालेपछि आफन्तहरू शव पहिचानका लागि भदौ ११ गतेदेखिनै देशका विभिन्न ठाउँबाट चितवन पुगिरेहका छन् । 

परिवारका सदस्य बेपत्ता भएको पीडामा चितवन पुगेका आफन्तहरूलाई निःशुल्क आवास र खानाको व्यवस्था गरेर उनीहरूको घाउमा मलम लगाउने प्रयास गरे चितवनबासीले । भदौ ११ गतेदेखि नै सुरु भएको निःशुल्क सेवाले पीडितका आफन्तलाई बसोबासमा सहज बनायो ।

गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढी सोही दिन अपराह्न चितवन आइपुग्यो। बाढीसँगै चितवनमा बेपत्ता भएका थुप्रै व्यक्तिहरुको शव पनि फेला परे। शव फेला परेको खबर पाएलगत्तै बेपत्ता परिवारका आफन्तहरु अर्को दिन बिहानैदेखिनै चितवनमा जम्मा हुन थाले। 

हतार हतार चितवन आइपुगेका आफन्तहरुको बसोबास र खानपिनको टुंगो थिएन। यही अवस्थालाई मध्यनजर गर्दै चितवन प्रशासनको समन्वयमा होटल व्यवसायी संघ- चितवनले निःशुल्क आवास र खानाको व्यवस्था गरेपछि पीडित परिवारलाई धेरै सहज बन्यो। 

दाङका लालबहादुर खत्री सल्यानका ८ जना आफन्तसहित केहीदिन देखि चितवनमा छन्। होटल व्यवसायी संघको निःशुल्क व्यवस्थापनले उनीहरुलाई खान र बस्नलाई सहज बन्यो। खत्री जस्तै चितवनमा सयौं परिवार बेपत्ता परिवारको सदस्य खोज्न चितवन आइपुगे । 

नेपाल भित्रका विभिन्न जिल्लाकासँगै भारतदेखि आफन्तहरु चितवन पुगे । यहाँ आउँदा खाना र बस्नका लागि कुनै समस्या नहोस् भनेर संघले शव पहिचान कक्षको मुलगेटमै सम्पर्क नम्बरसहितको ब्यानर टाँगेको छ । त्यहीँ माध्यमबाट पीडित परिवारलाई होटलसम्म पुग्न सहज बन्यो । 

मंगलबार बिहानसम्ममा नारायणगढ, भरतपुर, रामनगर र आसपासका होटलमा गरी ४१९ जना बास बसेका छन् । ५३५ जनाले निःशुल्क खानाको सेवा लिएको संघले जनाएको छ । विभिन्न ठाउँबाट भरतपुर आइपुगेका पीडित परिवारलाई एक ठाउँबाट अर्को ठाउँमा जान यातायातको समस्या भयो । 

यो समस्यालाई देखेर यहाँका अटो चालकहरुले निःशुल्क सेवा दिने निधो गरे । स्पन्दन यातायात सेवा प्रा.लि.बाट उनीहरुले जुनजुन ठाउँमा आवश्यक परे सोही ठाउँमा निःशुल्क पुर्‍याउने सेवा दिए । चितवन उद्योग संघको परिसरमा अहिले पनि बेपत्ता सदस्यको पहिचानका लागि आफन्तहरु आइरहेका छन् । 

त्यहाँ राखिएको टिभीमा शवको फोटो देखाइन्छ । त्यहीँ फोटो हेर्न भारतदेखिका मानिसहरु आइरहेका छन् । अहिले अस्थायी शव होल्डिङ सेन्टर खाली गरिएको छ । तर, शव पहिचानका लागि आफन्त आउने क्रम रोकिएको छैन । आफ्ना सदस्य गुमाएको पीडामा भौतारिँदै आएका आफन्तलाई यो निःशुल्क सेवाले धेरै नै राहत दियो ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।