
काठमाडौं । युरोपेली फुटबलको समर ट्रान्सफर विन्डोको मंगलबार अन्तिम दिन अर्थात् बहुप्रतीक्षित 'डेडलाइन डे' ।
प्रिमियर लिगदेखि ला लिगासम्म, र सिरि ए देखि टर्कीको सुपर लिगसम्म विश्व फुटबल वृत्तमा ट्रान्सफर विन्डो र खेलाडी ट्रान्सफर कै चर्चा छ ।
यस समर ट्रान्सफर विन्डोको सबैभन्दा ठूलो चर्चा चेल्सीले बटुलेको छ। नयाँ म्यानेजर जाबी अलोन्सोको नेत्तृत्वमा चेल्सीले एस्टन भिल्लाका युवा स्टार मोर्गन रोजर्सलाई १ सय १७ मिलियन युरोको कीर्तिमानी मूल्यमा भित्र्याएको छ। रोजर्सले चेल्सीका लागि पहिलो खेलमै गोल गरेर आफ्नो मूल्य प्रमाणित गरिसकेका छन् । तर, चेल्सीको यो यात्रा यत्तिमै रोकिँदैन, उनीहरूले एस्टन भिल्लाबाटै विश्वकप विजेता गोलकिपर एमिलियानो मार्टिनेज र क्रिस्टल प्यालेसबाट म्याक्सेन्स लाक्रोवालाई पनि आफ्नो टोलीमा सामेल गरेका छन् ।
यता प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीमा पनि पेप ग्वार्डिओलाको बहिर्गमनपछि एन्जो मारेस्काको नेतृत्वमा ठूलै परिवर्तन देखिएको छ । सिटीले नटिङ्घम फरेस्टका २३ वर्षीय मिडफिल्डर इलियट एन्डरसनलाई १ सय १६ मिलियन युरोको कीर्तिमानी मूल्यमा भित्र्याएको छ ।
फुटबल इतिहासमै एन्डरसन अहिलेसम्मकै सबैभन्दा महँगा सेन्ट्रल मिडफिल्डर बनेका छन् । सिटीले ब्राजिलियन क्लब पाल्मेइरासबाट २२ वर्षीय विङ्गर एलन एलियासलाई पनि टोलीमा अनुबन्ध गरेको छ। सिटीले एलियासको एक सय मिलियन युरोको रिलिज क्लज सिधै बुझाएर उनलाई इतिहाद भित्र्याएको हो।
यो अनुबन्ध टोटनह्याम प्रस्थान गरेका साविन्होको सोझो विकल्पको रूपमा गरिएको हो। लिभरपुलका नयाँ म्यानेजर एण्डोनी इराओलाले पनि अन्तिम समयमा एक्टिभ देखिएका छन् । पेरिस सेन्ट जर्मेन -पीएसजीका स्टार विङ्गर ब्राड्ली बारकोला अब लिभरपुलको रातो जर्सीमा मैदान उत्रनेछन् ।
करिब १ सय २३ मिलियन पाउण्डको यो मेगा डिल पीएसजीको इतिहासकै सबैभन्दा महँगो बिक्री हो । मोहम्मद सलाह टर्कीको ट्राब्जोनस्पोर प्रस्थान गरेपछि भएको रिक्तता पूरा गर्न लिभरपुलले बारकोलालाई एनफिल्ड भित्र्याएको हो। यसका साथै लिभरपुलले म्यानचेस्टर सिटीको ८० मिलियन पाउण्डको कोडी गाक्पो किन्ने प्रस्तावलाई अस्वीकार गर्दै गाक्पो लिभरपुलमै रहने स्पष्ट पारेको छ।
अब लागौं स्पेनतर्फ । रियल म्याड्रिडका नयाँ प्रशिक्षक जोसे मोरिन्होले आरबी लाइपजिगका १९ वर्षीय विङ्गर यान डियोमान्डेलाई १ सय २५ मिलियन युरोको कीर्तिमानी मूल्यमा भित्र्याएका छन्। यो अनुबन्धसँगै डियोमान्डे फुटबल इतिहासकै सबैभन्दा महँगो अफ्रिकन खेलाडी बनेका छन् ।
पीएसजीले डियोमान्डेका लागि इच्छा देखाए पनि म्याड्रिडले यो मौका समातेको हो। अर्कोतर्फ, बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान रोड्रीलाई ७६ दशमलव ५ मिलियन युरोमा स्पेन फिर्ता ल्याएर आफ्नो मिडफिल्ड मजबुत बनाएको छ । बार्सिलोनाले न्युकासलका विङ्गर एन्थोनी गोर्डनलाई पनि ८० मिलियन युरोमा अनुबन्ध गरिसकेको छ।
रेलिगेसनको संकटबाट मुस्किलले जोगिएको टोटनह्याम हटस्परले रोबर्टो डे जर्बीको नेतृत्वमा ३ सय ८० मिलियन पाउण्डभन्दा बढी खर्च गर्दै टोलीको पुनर्निर्माण गरेको छ । न्युकासलबाट स्यान्ड्रो टोनालीलाई १०० मिलियन पाउण्ड र वेस्ट ह्यामीबाट मातेउस फर्नान्डेसलाई ८५ मिलियन पाउण्डमा भित्र्याएको छ ।
न्युकासल युनाइटेडले टोलीका टोनाली, गुइमारेस र गोर्डनलाई बेचेर प्राप्त भएको २ सय ७५ मिलियन युरोभन्दा बढी रकम युवा खेलाडीहरूमा लगानी गरेको छ। म्यानेजर म्याथियास जाइसलेको योजना अनुसार लिलका २१ वर्षीय बेल्जियन फरवार्ड माटियस फर्नान्डेज-पार्डो ६० मिलियन युरोको मूल्यमा सेन्ट जेम्स पार्क आइपुगेका छन्।
फर्नान्डेज-पार्डोको आगमनसँगै न्युकासलका स्ट्राइकर निक वोल्टेमाडे लोनमा इटालियन क्लब युभेन्टस जाने तयारीमा छन्। यस ट्रान्सफर विन्डोले विश्व फुटबलको शक्ति सन्तुलनमा पनि बदलाव ल्याएको छ । फ्रान्सको लिग वानले यस सिजन ४५ करोड १० लाख युरो बराबरको बजार मूल्य गुमाएको छ, जुन फ्रान्सेली फुटबलका लागि ठूलो धक्का हो।
यसको विपरीत इटालीको सिरि ए र टर्कीको सुपर लिगले ठूलो फड्को मारेका छन्। मोहम्मद सलाह र फाबिन्हो जस्ता खेलाडीहरू टर्की प्रस्थान गर्नुले त्यहाँको लिगको बढ्दो महत्त्वाकांक्षा देखाउँछ। ट्रान्सफर विन्डोको अन्तिम सेकेन्डसम्म पनि कागजातको ढिलाइ र मेडिकल रिपोर्टका कारण कयौँ सम्झौताहरू कोल्याप्स हुने डर रहन्छ।
विन्डोज बन्द भए पनि फ्री एजेन्ट रहेका खेलाडीहरूलाई भने क्लबहरूले जुनसुकै बेला अनुबन्ध गर्न सक्नेछन् ।