रसुवा बाढीको पाठ : जलविद्युत् सुरुङमा नयाँ सुरक्षा मापदण्ड आवश्यक

भाद्र १६, २०८३ |सुदिल पोखरेल
रसुवा बाढीको पाठ : जलविद्युत् सुरुङमा नयाँ सुरक्षा मापदण्ड आवश्यक

काठमाडौं । रसुवामा आएको बाढीका कारण क्षति पुगेका ६ वटा जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरुको समयमै उद्धार तथा खोजी हुन सकेको छैन । 

सबैजसो आयोजनाको सुरुङमा पहुँच सुरुङमार्ग अर्थात् एक्सेस टनेलबाट लेदो पसेकाले यसको डिजाइन तथा मापदण्ड नै परिवर्तन गर्नुपर्ने देखिएको विज्ञले औल्याएका छन् । आपत्कालीन उद्धार सुरुङ थप्नुपर्नेसङ्गै जलविद्युत् गृह रिमोट अपरेसन प्रणालीमा सञ्चालन गर्नुपर्ने देखिएको छ ।

रसुवामा आएको बाढीका कारण १२ वटा आयोजनामा क्षति हुनुका साथै ८ सय ९४ जना हराइरहेका छन् । यसमध्ये ६ वटा आयोजनाको सुरुङमा कति जना थिए भन्ने अहिलेसम्म एकिन हुन सकेको छैन । साथै उद्धारमा खटेकाहरु पनि पावर हाउससम्म जान सकेको स्थिति छैन । 

जलविद्युत् आयोजनामा जलाशयबाट पावर हाउसम्म लाने सुरुङका साथै पावर हाउसमा जाने अर्को एक्सेस टनेल समेत हुन्छ । जसबाट नै अहिले आयोजनाको पावर हाउससम्म लेदो गएको देखिन्छ । एक्सेस टनेल धेरैजसो दुईसय मिटरका हाराहारी हुने र यो सुरुङ पावर हाउससङ्ग सिधा हुनेगरी बनाइएको हुन्छ । 

यसरी सिधा बनाएको सुरुङबाटनै क्षति बढी भएकाले अब नेपाल सरकारले एक्सेस टनेलसम्बन्धी मापदण्ड नै परिवर्तन गर्नुपर्ने देखिएको सुरुङका विज्ञहरु बताउँछन् । सञ्चालनमा आएका आयोजनामा कर्मचारी पावर हाउसमै थुनिएको आकलन छ ।

त्यसैले पावर हाउसमा कार्यरत प्राविधिक तथा कर्मचारीको सुरक्षाका लागि आपत्कालीन उद्धार सुरुङ निर्माण अनिवार्य गर्नुपर्नेका साथै जलविद्युत् गृहलाई ‘रिमोट अपरेसन’ प्रणालीमा लैजानुपर्ने देखिएको छ । विकसित मुलुकमा पावर हाउसमा जनशक्ति नराखी सुरक्षित स्थानबाटै प्रविधिको प्रयोग गरी आयोजना सञ्चालन गर्ने गरिएकोमा अब नेपालमा पनि त्यसलाई अनिवार्य गर्नुपर्ने देखिएको छ ।

जलवायु परिवर्तनका कारण हिमताल विस्फोट, आकस्मिक बाढी र पहिरोको जोखिम बढ्दै गएकाले अब नेपालका जलविद्युत् आयोजना निर्माण पूर्व यसको विश्लेषण सङ्गै अब निरन्तर हिमतालको अध्ययन गरेर चिनसङ्ग सुचना आदान प्रदानसङ्गै पूर्वसूचना प्रणालीको पनि विकास गर्न जरुरी छ ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।