रवीन्द्रको यूएफसी सपनामा अन्तिम बाधा ताजिमा, को कति बलियो ?

भाद्र १४, २०८३ |अभय बस्नेत
रवीन्द्रको यूएफसी सपनामा अन्तिम बाधा ताजिमा, को कति बलियो ?

काठमाडौं । नेपालको यूएफसी सपना अब एक जित मात्र टाढा छ । 

नेपालका रवीन्द्र ढाँटले न्युजिल्यान्डका अपराजित फाइटर कसिब मर्डोकलाई हराउँदै फाइनलको यात्रा तय गरेसँगै अबका प्रतिद्वन्द्वी पनि पाइसकेका छन्- जापानका रियो ताजिमा । 

आज हामी रवीन्द्रको सेमिफाइनल जितको विश्लेषण र फाइनलका प्रतिद्वन्द्वी ताजिमाको सबल तथा कमजोर पक्षको बारेमा चर्चा गर्नेछौँ ।

रोड टु यूएफसीको ब्यान्टमवेट सेमिफाइनलअघि न्युजिल्यान्डका एमएमए फाइटर कसिब ‘मर्डर’ मर्डोकले प्रोफेसनल करियरमा कुनै फाइट हारेका थिएनन् । तर, बझाङको बाघ भनिने रवीन्द्र ढाँटले उनलाई हार कस्तो हुन्छ भन्ने चखाए ।

सुरुआती दुई राउन्डमा त मर्डोकले रवीन्द्रलाई भुइँमा ढालेका थिए र केही घुँडाको प्रहार पनि गरेका थिए । तर, रवीन्द्रको एथलेटिक रिकभरी त्यहाँ काम लाग्यो । तेस्रो राउन्डमा त मुर्डोक रवीन्द्रको सिग्नेचर मुभ, ढाँट सटको सिकार बने ।

राउन्डको अन्तिम केही समयमा मर्डोकले ‘डबल-लेग टेकडाउन’ गर्दै रवीन्द्रको ढाडको पोजिसनबाट ग्राउन्ड-एन्ड-पाउन्ड प्रहार गरे पनि स्ट्यान्डिङ पोजिसनमा रवीन्द्रको प्रदर्शन नै उनको जितको आधार बन्यो । रवीन्द्र ११-१ को सानदार रेकर्डका साथ फाइनल प्रवेश गर्ने पहिलो नेपाली फाइटर बने ।

बझाङको विकट गाउँदेखि दिल्लीमा चिया पसलको कामदार र सफाइको काम गर्दै एमएमए प्लेटफर्मको ढोका ढकढक्याउन पुगेका रवीन्द्रको यो यात्रा प्रेरणाले ओतप्रोत छ । भोटेकोशीको बाढीले आक्रान्त बनेको नेपाली समाजका लागि त यो थोरै भए पनि मलम नै बनेको छ ।

शुक्रबारको जितसँगै अब रवीन्द्र यूएफसी कन्ट्र्याक्टबाट मात्र एक जित टाढा छन् । उनको फाइनल खेल कहाँ र कहिले हुने भन्ने तय भएको छैन तर कोसँग हुने भन्ने थाहा भइसकेको छ । रवीन्द्रको अबका प्रतिद्वन्द्वी हुन्- जापानी फाइटर रिओ ताजिमा । 

ताजिमाले शुक्रबार नै भारतका चुङग्रेन कोरेनलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएका थिए । 

रवीन्द्रका लागि ताजिमा कस्तो अपोनेन्ट हुन् त ?

जापानको ओटा डोजोको प्रतिनिधित्व गर्ने ताजिमाको एमएमए रेकर्डको कुरा गर्दा १५ खेलमा १२ जित र ३ हार छ । रवीन्द्रको १२ खेलमा ११ जित र १ हार छ । ताजिमा पछिल्ला ४ खेलदेखि अपराजित छन् । उनको पछिल्लो हार २०२४ को मार्चमा रुई ईमुराविरुद्ध थियो । 

२७ वर्षीय ताजिमा प्रायः अर्थडक्स पोजिसनबाट खेल्न रुचाउँछन् । उनी केही डिस्टयान्स राखेर पन्च र किकहरू बढी प्रयोग गर्छन् । रवीन्द्रको जस्तै उनको पनि शारीरिक सुगठन र स्ट्यामिना निकै राम्रो छ । जुनिची ओटाको प्रशिक्षणमा रहेका ताजिमा जापानको ‘प्यानक्रेस’ संस्थाको ब्यान्टमवेट च्याम्पियन हुन् । 

कासिबविरुद्धको खेलमा जस्तो रवीन्द्रलाई ताजिमाविरुद्ध भने उचाइको सुविधा नरहन सक्छ । ५ फिट ७ इन्चका रवीन्द्रभन्दा ताजिमा एक इन्च अग्ला छन् । उनी आफ्नो लामो पहुँच र लगातारको ल्याटरल मुभमेन्टको मद्दतले विपक्षी फाइटरलाई टाढैबाट प्रहार गर्न माहिर छन् । 

उनी स्ट्रेट पन्चेज र उत्कृष्ट डिफेन्सको प्रयोग गर्छन् । सेमिफाइनलमा उनले भारतका चुङ्गरेङ कोरेनलाई पराजित गर्दा यो शैली स्पष्ट देखिएको थियो । कोरेनले ताजिमाविरुद्ध लगातार प्रेसर दिँदै खेलभरि ८ मिनेटभन्दा बढीको ग्राउन्ड कन्ट्रोल टाइम बनाएका थिए । 

तर, ताजिमाले भुइँमा रहँदा गार्ड पोजिसनबाट लगातार सक्रिय डिफेन्स गर्दै कोरेनको शरीर र टाउकोमा शर्ट एल्बोज र पन्च प्रहार गरिरहे । यता, रवीन्द्रको फिनिसिङ रेट निकै उच्च छ । ११ जितमध्ये उनका ८ नकआउट छन् । रवीन्द्रले हेभी ग्राउन्ड-एन्ड-पाउन्डका कारण ताजिमालाई ठूलो क्षति पुर्‍याउन सक्छन्, जसमा रवीन्द्र माहिर पनि छन् ।

यो खेल जिते भने रवीन्द्रले यूएफसी– अर्थात् अलटिमेट फाइटिङ च्याम्पियनसिपमामा प्रवेश गर्नेछन् । यो यस्तो प्रतियोगिता हो जहाँ बक्सिङ, कुस्ती, जुजित्सु र करातेजस्ता मिक्सड मार्शल आर्टसका उत्कृष्ट फाइटरहरू ८ कुने केजभित्र भिड्छन् । 

साथै उनले यूएफसीमा व्यावसायिकरूपमा धेरै खेलहरूको लिखित सम्झौता पाउनेछन् भने ठूला र प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पनि प्रतिस्पर्धा गर्न पाउनेछन्।


Image

अभय बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजनको स्पोर्ट्स ब्युरोमा कार्यरत छन् ।