१०औं राष्ट्रिय खेलकुद : मिति नजिकिँदै, बजेट अभावले छैन पर्याप्त तयारी

भाद्र १२, २०८१ |टेकराज जोशी
१०औं राष्ट्रिय खेलकुद : मिति नजिकिँदै, बजेट अभावले छैन पर्याप्त तयारी

धनगढी । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नजिकिँदै गए पनि सुदूरपश्चिम प्रदेशमा बजेट नहुँदा पर्याप्त तयारी हुन सकेको छैन । खेल सामग्रीको अभावले बन्द प्रशिक्षण नहुँदा खेलाडी अन्योलमा छन् । खेलाडी स्वयम्ले आफ्नै बलबुताले जेनतेन अभ्यास गरिरहे पनि त्यो पर्याप्त छैन । खेलकुदप्रति राज्यले बेवास्ता गरेको आरोप खेलाडी, प्रशिक्षक तथा पदाधिकारीहरुले लगाएका छन् ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिरमा कर्णाली प्रदेशमा हुँदै छ । तर त्यसका लागि सुदूरपश्चिममा अहिलेसम्म आवश्यक तयारी भएको छैन । बजेट अभावमा पर्याप्त खेल सामग्री छैनन् भने बन्द प्रशिक्षण पनि सुरु हुन सकेको छैन । पदकको मात्रै आस गर्ने तर तयारीमा पटक्कै ध्यान नदिने परिपाटीले खेलाडी निराश छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट अहिलेसम्म पारित गरेको छैन । अघिल्लो सरकारले ल्याएको बजेट पारित नगरी नयाँ ल्याउने तयारी सरकारको छ । त्यसमा पनि खेलकुदका लागि कति बजेट छुट्याइने हो टुंगो छैन । राष्ट्रिय खेलकुद परिषद्ले पनि बेवास्ता गरेको आरोप जिल्ला खेलकुद विकास समितिको छ ।

नवौं राष्ट्रिय खेलकुदमा १० स्वर्ण, १० रजत र १८ कास्य जितेको सुदूरपश्चिमले यसपालि ३० स्वर्ण जित्ने लक्ष्य राखेको छ । त्यसका लागि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले प्रदेश सरकारसँग साढे ९ करोड बजेट मागेको छ ।

दशौं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमबाट विभिन्न ३२ विधाका गरी ७ सय ५० जना खेलाडी र प्रशिक्षक सहभागी गराउने खेलकुद परिषद्को तयारी छ । तर समय नजिकिँदै गर्दा पनि बजेट नआउँदा खेलाडी र प्रशिक्षक अन्योलमा परेका छन् । धेरै पदकको आशा गर्ने तर पूर्वतयारीमा पटक्कै ध्यान नदिने परिपाटीले खेलाडीले आफ्नो क्षमतासमेत प्रदर्शन गर्न सकेका छैनन् ।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement