काठमाडौं । आईएमई ग्रुपको लगानीमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका– १, रामनगरमा स्थापना भएको नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गर्नुभएको हो ।
उद्घाटन लगत्तै प्रधानमन्त्री ओलीले कागज उत्पादन प्रक्रिया र उद्योगमै रहेको वातावरणमैत्री क्याल्सियम कार्बोनेट उत्पादनको समेत अवलोकन गर्नुभयो । दुई अर्ब रुपैयाँ लगानी रहेको यो उद्योगले अब दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाइ कार्यका लागि उपयुक्त गुणस्तरीय कागज औद्योगिक स्तरमा उत्पादन गर्न थालेको छ । उद्योगले पहिलो चरणमा फोटोकपी पेपर र कपी–किताबका लागि प्रयोग हुने कागज उत्पादन सुरु गरेको छ ।
शैक्षिक, प्रशासनिक तथा अन्य धेरै क्षेत्रमा उच्च माग रहेको फोटोकपी पेपर र अन्य कागजको उत्पादनले आन्तरिक बजारको माग सम्बोधन गर्नेछ । विद्यालयको पाठ्यपुस्तक छपाइ गर्दै आएको जनक शिक्षा सामग्री केन्द्र लगायतलाई समेत स्वदेशी उत्पादन प्रयोगका लागि ढोका खुल्नेछ । आईएमई ग्रुपको यो उद्योग स्थापना भएसँगै नेपालमा पहिलो पटक नष्ट भएका कागजबाट नयाँ कागज उत्पादन भई आयात कम गर्न सहयोग पुग्नेछ ।
यस उद्योगले करिब तीन सय जनालाई रोजगारी दिनेछ । नेपालमा वार्षिक करिब डेढ लाख मेट्रिक टन कागज खपत हुने गरेको छ ।