काठमाडौं । लिभरपुलले युएफा च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेन पिएसजीलाई १-० गोलले पराजित गरेको छ ।
घरेलु टिम पिएसजीले खेल अवधिभर लिभरपुललाई दबाबमा राखेपनि डेडलक तोड्न सकेन् । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो । १६ औं मिनेटमा पिएसजीले गोलको सुनौलो अवसर पाएको थियो । जोवाओ नेभेसले, उस्मान डेम्बेलेको कट ब्याकमा गरेको प्रहार बार माथिबाट बाहिरियो । २०औं मिनेटमा खभिचा खभारा खेलियाले गोल गरेका थिए । तर भिडियो एसिस्टेन्ट रेफ्रि भारको परिक्षणबाट गोलले मान्यता नपाएपछि पिएसजी अग्रता लिनबाट चुक्यो । भारको अर्को निर्णय पनि विवादास्पद बन्यो ।
लिभरपुलका इब्राहिमा कोनाटेले ब्राड्ली ब्रकोलालाई फाउल गरेका थिए । रातो कार्डका लागि भएको भार परिक्षणले पाहुना टिमलाई एघार खेलाडीमा नै यथावत राख्ने निर्णय गर्यो । यो खेलमा पिएसजीले २८ सट प्रहार गरेको थियो । लिभरपुल गोलकिपर एलिसनले नौं प्रहारको बचाउ गरे । ८७ औं मिनेटमा आर्ने स्लटको टिमले ब्रेकथ्रु पायो । उसका लागि सब्सिच्युट हार्भी इलोटले गोल गरेका हुन् ।
मोहम्मद सलाहलाई रिप्लेस गरेको ४६ सेकेन्डमा इलोटले, डाविन नुनियाजको असिस्टमा गोल गरेका थिए । एलिसनले दिएको लङ पासलाई नुनियाजले नियन्त्रण गर्दै इलोटलाई उपलब्ध गराएका थिए । लिभरपुलको यो केवल दोस्रो सट थियो । दोस्रो लेग अर्को साता एनफिल्डमा हुनेछ ।
जारी लिग वान तालिकाको शीर्ष स्थानमा रहेको पिएसजी लिभरपुलविरुद्ध मैदान उत्रनु अघि २२ खेलदेखि अपराजित थियो । अहिलेसम्म पिएसजीले च्याम्पियन्स लिग जित्न सकेको छैन ।