पूर्वराजालाई प्रधानमन्त्री ओलीको चुनौती : लोकप्रिय छु भन्ने लाग्छ भने चुनाव लड्नुस्

फाल्गुन २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
पूर्वराजालाई प्रधानमन्त्री ओलीको चुनौती : लोकप्रिय छु भन्ने लाग्छ भने चुनाव लड्नुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकप्रिय छु भन्ने लागेमा चुनाव लड्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिनुभएको छ । बिहीबार महोत्तरीमा कागज कारखानाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजा शाहलाई छायाँ अघि सारेर नभई आफैं राजनीतिक दल खोली निर्वाचन लड्न चुनौती दिनुभएको हो ।

उहाँले कुर्सीमा बस्दा राजा हुने दिन गएको जिकिर गर्दै जन्मिँदै राजा हुने प्रणाली स्वीकार्य नहुने बताउनुभयो । संविधान र लोकतन्त्रको बाटो समातेर अघि बढ्न भने सबैलाई खुला रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “पूर्वराजा लोकप्रिय छन् भने चुनाव लड्नुस् । आउनुस् पार्टी खोल्नुस् । एउटा घोस्ट भन्छ नि छायाँ अघि सारेर होइन, आफू अघि सर्नुस् न । लोकप्रिय हुनुहुन्छ भने ठीक छ, चुनाव लड्न आउनुस् न । तपाईंलाई जहाँसुकै पनि चुनाव लड्न खुला छँदैछ नि । आउनुस् चुनाव लड्नुसु, पार्टी खोलनुस्, खोलेकै छ, त्यसलाई आफ्नो भन्नुस् । मेरो पार्टी भन्नुस् न । अलिकति टाउको निकाल्ला निकाल्ला जस्तो पनि गर्ने, अलि अप्ठ्यारो पर्‍यो भने लुसुक्क पछाडि तानेर कछुवा तालले टाउको लुकाउने ।”

प्रधानमन्त्री ओलीले नेपाली जनताले अब राजतन्त्र स्वीकार नगर्ने र संविधानले पनि नचिन्ने बताउनुभयो । “नेपाली जनताले अबको समयमा राजतन्त्रलाई स्वीकार गर्दैनन् । राजतन्त्र मान्य हुँदैन । हाम्रो संविधानले राजतन्त्र चिन्दैन । नेपाली जनताले फालिसकेका छन् । म स्पष्ट भन्न चाहन्छु, बेकारको तनाव बढाउने काम कसैले पनि गर्न नखोज्नुस् ।”

प्रधानमन्त्री ओलीले राजसंस्थाको जन्म नै षड्यन्त्रबाट भएको भन्दै बलमिच्याइँ र अराजकता नेपाली जनतालाई स्वीकार्य नहुने बताउनुभयो । “संवैधानिक लोकतान्त्रिक बाटोबाट अघि बढ्नुस् । विधिको बाटोबाट अघि बढ्नुस् । बलमिच्याइँ, अराजकता र झाडीको बाटोबाट कोही सिंहासनमा बस्छु भन्ने ठानेको छ भने नेपाली जनतालाई त्यो कुरा स्वीकार्य छैन ।”

प्रधानमन्त्री ओलीले देश विकास निर्माणका कामबाट अघि बढिरहेको भन्दै दाबी गर्नुभयो । उहाँले आफू मधेशविरोधी नभएको समेत बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement