आइसीसी च्याम्पियन्स ट्रफीः दक्षिण अफ्रिका न्युजिल्यान्डसँग पराजित, फाइनलमा भारत र न्युजिल्यान्ड भिड्ने

फाल्गुन २२, २०८१ |खेल ब्युरो
आइसीसी च्याम्पियन्स ट्रफीः दक्षिण अफ्रिका न्युजिल्यान्डसँग पराजित, फाइनलमा भारत र न्युजिल्यान्ड भिड्ने

काठमाडौं । न्युजिल्यान्ड दक्षिण अफ्रिकामाथि ५० रनको जित हात पार्दै आइसीसी च्याम्पियन्स ट्रफीको फाइनल प्रवेश गरेको छ । न्युजिल्यान्डका लागि रचिन रविन्द्र र केन विलियम्सनले शतक प्रहार गर्दा मिचेल सान्टनरले महत्वपूर्ण तीन विकेट लिए ।

पाकिस्तानको लाहोरस्थित गद्धाफी स्टेडियममा टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ६२ रन बनाएको थियो । यो प्रतियोगिताकै कीर्तिमानी योगफल हो । ओपनर विल योङ, लुंगी एनगिडीको बलमा २१ रनमा आउट भएका थिए । तर विलियम्सन र रचिनले दोस्रो विकेटका लागि १ सय ६४ रनको साझेदारी गरेपछि न्युजिल्यान्डले विशाल लक्ष्य प्रस्तुत गरेको हो । कागिसो रावडाले यो साझेदारी तोडेका थिए ।

रचिनले १ सय १ बलमा एक सय ८ रन जोडे । करियरको पाँचौ ओडिआई शतक प्रहार गर्ने क्रममा रचिनले १३ चौका र एक छक्का प्रहार गरे । विलियम्सन १ सय २ रनमा आउट भए । उनले ९४ बलको सामना गर्दै १० चौका र २ छक्का हिर्काएका थिए । विलियम्सनको ओडिआइमा यो १५ औं शतक हो ।

ड्यारेल मिचलेले ४९ रन जोड्दा ग्लेन फिलिप्स ४९ रनमा अविजीत रहे । एनगिडीले ३ र रावडाले २ विकेट लिए । जवाफमा दक्षिण अफ्रिकाले पुरै ओभर खेलेर नौ विकेटको क्षतिमा तीन सय १२ रन मात्र बनाउन सक्यो । डेविड मिल्लरले शतक बनाएपनि जितका लागि पर्याप्त भएन् । रायन रिकेल्टन १७ रनमा नै मैदान बाहिरिएका थिए ।

कप्तान टेम्बा बाभुमा र रस्सी भान डेर डसनले एक सयम दक्षिण अफ्रिकालाई जिततर्फ उन्मुख गराएका थिए । बाभुमालाई सान्टनरले ५६ रनमा आउट गर्दै न्युजिल्यान्डलाई खेलमा फर्काए । भान डेर डसन पनि उनकै बलमा ६९ रन जोड्दै पभेलियन फर्किए ।

छैठौं नम्बरमा ब्याटिङमा आएर मिल्लरले अविजीत एक सय रन बनाए । तर दक्षिण अफ्रिका नतिजा आफ्नो पक्षमा पार्न सफल भएन् । म्याट हेन्री र फिलिप्सले दुई दुई विकेट लिए । अब उपाधिका लागि न्युजिल्यान्ड र भारतबीच आइतबार दुबईमा खेल हुनेछ । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो । भारत अस्ट्रेलियालाई पराजित गरेर फाइनल पुगेको हो ।



Enter Kantipur TV HD
Advertisement