एकदिवसीयबाट बिदा भए स्मिथ, टेस्ट र टी ट्वेन्टी भने खेल्ने

फाल्गुन २१, २०८१ |खेल ब्युरो
एकदिवसीयबाट बिदा भए स्मिथ, टेस्ट र टी ट्वेन्टी भने खेल्ने

काठमाडौं । अस्ट्रेलियन क्रिकेटर स्टिभ स्मिथले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गरेका छन् । हिजो भएको च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अस्ट्रेलिया भारतसँग पराजित भएपछि स्मिथले एकदिवसीय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् । प्रतियोगितामा उनले अस्ट्रेलियाली टोलीको कप्तानी गरेका थिए ।

३५ वर्षीय स्मिथले मंगलबार दुबईमा भएको सेमिफाइनल खेलमा भारतविरुद्ध ७३ रनको उत्कृष्ट इनिङ खेलेका थिए । तर, अस्ट्रेलिया चार विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । स्मिथले टेस्ट र टी ट्वेन्टी अन्तर्राष्ट्रिय भने खेलिरहने बताएका छन् । यो यात्रा अद्भुत भएको र आफूले हरेक क्षणको भरपूर आनन्द लिएको स्मिथले बताएका छन् ।

स्मिथले सन् २०१० मा स्पिन अलराउन्डरका रूपमा एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए । उनले आफ्नो १७० एकदिवसीय खेलको करियरमा ४३.२८ को औसतमा ५ हजार ८ सय रन बनाएका छन् । जसमा १२ शतक समावेश छन् । स्मिथले २०१५ को विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै पाँच अर्धशतक प्रहार गरेका थिए । फाइनलमा अस्ट्रेलियालाई च्यम्पियन बनाउन उनले अविजित ५६ रन बनाएका थिए । उनकै शानदार प्रदर्शनको मद्दतमा अस्ट्रेलियाले घरेलु मैदानमा उपाधि जितेको थियो । 

स्मिथ २०२३ मा भारतमा सम्पन्न विश्वकप जित्ने टोलीको पनि सदस्य पनि थिए । स्मिथले २०१५ देखि २०१८ सम्म अस्ट्रेलियाको एकदिवसीय टोलीको कप्तानी गरेका थिए । तर, २०१८ मा दक्षिण अफ्रिकाविरुद्धको टेस्ट शृंखलामा ‘बल टेम्परिङ’ मा संलग्न भएपछि उनलाई कप्तानीबाट हटाइएको थियो ।

एक वर्षको निलम्बनपछि उनले पुनः अस्ट्रेलियाका लागि सबै फर्म्याटको क्रिकेट खेलेका थिए । यसै वर्ष श्रीलंकाविरुद्धको टेस्ट सिरिजमा उनले अन्तरिम कप्तानको भूमिका सम्हालेका थिए । साथै, च्याम्पियन्स ट्रफीका लागि एकदिवसीय टोलीको कप्तानी पनि गरेका थिए ।



Enter Kantipur TV HD
Advertisement