काठमाडौं । एएफसी च्याम्पियन्स लिग एलिट अन्तिम १६ को पहिलो लेगमा साउदी अरेबियाको अल आली विजयी भएको छ । अल हिलाल भने पराजित भयो ।
अल आलीले गएराति भएको खेलमा कतारको अल रायनलाई ३-१ गोलले पराजित गरेको हो । अहमद बिन अली स्टेडियममा अल आलीले ३०औं मिनेटमा ब्राजिलियन विंगर गेलेनोको हेडर गोलमार्फत अग्रता लिएको थियो । ३४ औं मिनेटमा रियाद महरेजले गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफमा पाहुना टिम २-० ले अघि रहन सफल भयो । ७१ औं मिनेटमा रोजर गुडेसले गोल गरेपछि रायनले आलीसंगको दुरी २-१ मा झारेको थियो । तर इन्जुरी समयमा फेरास अलब्रिकानले गोल गरेपछि आली ३-१ ले विजयी भएको हो ।
अन्तिममा रायन दश खेलाडीमा झरेको थियो । एडम रातो कार्ड पाउँदै मैदान बाहिरिएका हुन् । हिलाल भने उज्बेकिस्तानको पाख्तकोर सँग १-० गोलले स्तब्ध भएको हो । घरेलु टिमका लागि २९ औं मिनेटमा ब्राजिलियन फ्लामारियोनले एक मात्र गोल गरेका थिए । उनले रुवेन नेभेस र खालिफाह अल दस्वारी बीचको सम्वन्य अभावको फाइदा उठाएका थिए ।
बल पोसेसनमा अल हिलाल अघि रहेपनि गोल गर्न भने सकेन् । अब्दुल्लाह अल हाम्दान र सेर्गी मिलिन्कोभिचले बराबरी गोल फर्काउने मौका गुमाए । अर्को खेलमा जापानको योकोहामाले चीनको साङघाइ माथि १-० गोलको जित हात पारेको छ । उसका लागि ३० औं मिनेटमा आन्द्रेसन लोपेसले गरेको गोल निर्णायक बन्यो ।