काठमाडौं । फिफाले महिला फुटवलमा पनि क्लब विश्वकप आयोजना गर्ने भएको छ । सन् २०२८ बाट सुरु हुने प्रतियोगिता हरेक चार वर्षमा हुनेछ ।
नियमनकारी निकायले महिला च्याम्पियन्स कप पनि लन्च गर्नेछ । २०२६ बाट सुरु हुने यो प्रतियोगिता महिला फुटवलको पहिलो ग्लोबल प्रतिस्पर्धा हुनेछ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताको सुरुवातसँगै महिला फुटवल नयाँ उचाइमा पुग्ने बताए ।
हरेक वर्ष आयोजना गरिने च्याम्पियन्स कपमा ६ टिम सहभागी हुनेछन् । क्लब विश्वकप भएको वर्ष भने च्याम्पियन्स कप हुनेछैन । यसअघि २०२६ बाट नै सुरु गरिने योजना बनाइएको क्लब विश्वकपमा ६ महादेशका १६ टिम सहभागी हुनेछन् । पाँच युरोपसहित १३ क्लब सिधै छनौट हुनेछन् भने बाँकी स्थानका लागि प्ले अफ हुनेछ ।
यस्तै फिफाले यो वर्षको पुरुष क्लब विश्वकपको पुरस्कार राशी एक विलियन डलर हुने बताएको छ । १४ जुनदेखि १३ जुलाइसम्म अमेरिकामा हुने प्रतियोगितामा ३२ टिमले भाग लिनेछन् । रेभिन्युबाट दुई विलियन प्राप्त हुने विश्वास फिफाको छ ।
रेभिन्युबाट प्राप्त भएको सबै रकम क्लब फुटवलको विकासमा खर्चिने फिफाको भनाइ छ । अध्यक्ष इन्फान्टिनोले फिफाले एक डलर पनि नराख्ने बताएका हुन् ।