काठमाडौं । सन् २०२२ को विश्वकपमा कतारले लिग चरणका तीनवटै खेल गुमाउँदै आयोजकका रूपमा अहिलेसम्मकै खराब नतिजा निकालेको थियो । तर यसपटक एसियन कपमा कतारले विश्वकपको गल्ती दोहोर्याएन र सफलतापूर्वक उपाधि रक्षा गर्यो । कतार यो उपलब्धि हासिल गर्ने पाँचौं राष्ट्रसमेत बनेको छ ।
दोहाको लुसेल स्टेडियममा शनिबार राति अन्तिम सिट्टी बज्दा एएफसी एसियन कपको फाइनलमा कतारले जोर्डनलाई ३-१ ले पराजित गरिसकेको थियो । ताविज अक्रमको हृयाट्रिकमा ८६ हजार ४९२ समर्थकको ध्वनिले पूरै दोहा गुञ्जायमान भएको थियो । कतारका शासक सेख तमिम बिन हमाद अल थानी र फिफा अध्यक्ष जियानी इन्फान्टिनो पनि यो क्षणको साक्षी बने । कतारका लागि यो कुनै सामान्य उपलब्धि थिएन । सन् २०१९ मा यूएईमा सम्पन्न प्रतियोगिता जितेको कतार लगातार दुई उपाधि जित्ने दोस्रो टोली बनेको छ । यसअघि जापानले २००० र २००४ मा एसियन कपको उपाधि हात पारेको थियो ।
प्रतियोगिताभर अपराजित कतारले क्वाटरफाइनलमा उज्वेकिस्तान र सेमिफाइनलमा इरानलाई पेनाल्टी सुटआउटमा पाखा लगाएको थियो ।
विश्वकपमा खराब खेलेको मार्कवेजको टोलीलाई प्रतियोगिताअघि कसैले पनि उपाधि दाबेदारका रुपमा हेरेका थिएनन् । दक्षिण कोरिया, इरान, अस्ट्रेलिया, जापान र साउदी अरबका खेलाडी युरोपेली लिगमा स्थापित छन् । त्यसैले यीमध्ये कुनै एक मुलुकले एसियन कप जित्न सक्ने धेरैको आकलन थियो । चार वर्षअघि कतारले पहिलोपटक महाद्विपीय उपाधि जित्दा धेरैले यसलाई संयोग मात्रै ठानेका थिए । तर यसपटक उसले धेरै अनुमान र आकलनलाई गलत साबित गरेको छ । चुनौती र अवरोध पार गर्दै एसियाली च्याम्पियन बनेको कतारका लागि फाइनलमा अक्रमले गरेको सनसनीपूर्ण हृयाट्रिक नयाँ पुस्ताको कतारी फुटबलका लागि प्रेरणा बनेको छ ।
कतारको सफतलाको केही श्रेय अक्रमलाई जान्छ । प्रतियोगितामा ८ गोल गरेका उनी शीर्ष गोलकर्ता हुन् । अल्मोज अली र कप्तान हसन अल-हेडोसले दवाबमा देखाएको खेल कौशलले कतारको सफलताको मार्ग निर्देशन गर्यो । प्रतियोगिताका व्यक्तिगत अवार्डमा पनि कतारले नै वर्चस्व कायम गर्यो । कतारको टोलीले फेयर प्ले अवार्ड जित्यो भने अक्रम अफिफले मोस्ट भ्यालुएबल प्लेयरको अवार्ड जिते ।
गोलकिपर मेशाल वर्षमले गोल्डेन ग्लोभ हात पारे । पहिलो एसियन कप फाइनल खेलेको जोर्डनले पनि प्रतियोगिताभर सबैको ध्यान तान्यो । कमजोर आकलन गरिएको र समूह चरणमा तेस्रो स्थानमा रहेको जोर्डन फाइनलसम्म पुग्ने आकलन कसैले गरेका थिएनन् । तर जोर्डनले फाइनलमा बक्सभित्र गल्ती नगरेको भए नतिजा जे पनि हुन सक्थ्यो ।
जोर्डनका प्रशिक्षक हुसेन अमौताले पेनाल्टी सुम्पिनु गल्ती भएको बताए । तीनपटक अरेबियन गल्फ कप र लगातार दुईपटक एसियन कप जितेको कतारको नजर पछिल्लो समय व्यावसायिक फुटबल र खेल पर्यटनमा केन्द्रित छ ।