पेरिस ओलम्पिक छनोट : बलियो प्रतिद्वन्द्वी भियतनामको सामना गर्दै नेपाली टोली

चैत्र १८, २०७९ |रेबन दाहाल
पेरिस ओलम्पिक छनोट : बलियो प्रतिद्वन्द्वी भियतनामको सामना गर्दै नेपाली टोली

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पेरिस ओलम्पिक छनोटमा भियतनामसँग दुई खेल खेल्दैछ । चैत २२ र २५ हुने दुई खेलको विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छ । नेपाली महिला टिमका लागि फिफा विश्वकप खेल्ने भियतनाम अहिलेसम्मकै बलियो प्रतिद्वन्द्वी हो । नेपालले यसअघि २०२० को टोकियो ओलम्पिक छनोटको दास्रो चरणमा स्थान बनाउादा भारत, म्यानमार र बंगलादेशसँग बराबरीको नजिता निकालेको थियो । त्यसैले भियतनामविरुद्ध घरेलु मैदानमा जित निकाले महिला टिमको अहिलेसम्मकै उच्च नतिजा हुनेछ ।

प्यालेस्टाइन र अफगानिस्तानले आन्तरिक कारण देखाउँदै छनोटबाट नाम फिर्ता लिएपछि समूह सीको नेपालल पेरिस ओलम्पिक २०२४ को छनोटमा भियतनामसँग मात्र प्रतिस्पर्धा गर्दैछ । दशरथ रंगशालामा नेपाल र भियतनामबीच हुने दुई खेलको विजेताले दोस्रो चरणमा स्थान बनाउने छ । दक्षिण एसियाली फुटबलमा मात्र सीमित नेपालका लागि भियतनाम बलियो प्रतिद्वन्द्वी हो । सोहीअनुसार नै नेपाल आवश्यक तयारीमा जुटेको छ ।

प्रशिक्षक अनन्तराज थापाले डिफेन्डर सिर्जना चेम्जोङलाई पहिलो पटक समेट्दै २२ सदस्यीय टिम घोषणा गरेका छन् । डिफेन्डर पूजा रानाले करिब सात महिनापछि टिममा पुनरागमन गरिन् । तर, नेपाली डिफेन्स लाइनमा महत्वपूर्ण मानिने गीता राना चोटका कारण टिममा हुने छैनन् । यस्तै मध्यक्रमकी प्रिति राईले पनि चोटका कारण छनोट खेल गुमाउने छिन् ।

नेपालले प्रतियोगिताको तयारी लामो समय गरेको छैन । फेब्रुअरीमा भारतसँग दुई मैत्रीपूर्ण खेलेपछि टिम प्रतियोगिताविहीन छ । घरेलु मैदानमै खेल हुने भनिए पनि नेपाली टिमले थ्री नेसन्स कप र ए डिभिजन लिगका कारण दशरथ रंगशालामा अभ्यासको मौका पाएन । तर, करियरको उत्तरार्धमा पुगिसकेका केही अनुभवी र कही नयाँ खेलाडीबीचको तालमेलमा नेपाल आफू अनुकुल नतिजा निकाल्ने प्रयासमा हुनेछ ।

भियतनाम विश्व वरीयताको ३३ औं स्थानमा छ भने नेपाल १ सय २ औं स्थानमा छ । छनोटको पोर्ट एमा भियतनाम र नेपाल पोर्ट बी मा थिए । पहिलो चरणको छनोटमा सात समूहका उत्कष्ट टोलीले दोस्रो चरणमा प्रवेश पाउनेछन् । दोस्रो चरणमा उत्तर कोरिया, दक्षिण कोरिया, जापान, अष्ट्रेलिया र चीनसँग प्रतिस्पर्धा हुनेछ । यी १२ टिमलाई तीन समूहमा विभाजन गरिनेछ । समूहका शीर्ष तीन टिम र उत्कृष्ट एक उपविजेताले तेस्रो चरणमा स्थान बनाउनेछन् । तेस्रो चरणमा यी चार टिमबीच हुने खेलको उत्कृष्ट दुई टोलीले २०२४ मा हुने पेरिस ओलम्पिकमा स्थान बनाउने छन् । 


Image

रेबन दाहाल

दाहाल कान्तिपुर टीभीमा खेलकुद ब्युरोमा कार्यरत छन् ।