थ्री नेसन्स् कपमा नेपाली राष्ट्रिय फुटबल टिमको कमजोर प्रदर्शन, एन्फाले खेलाडीको क्षमता बढाउने कार्यक्रम ल्याउनै सकेन (रिपोर्ट)

चैत्र १५, २०७९ |रेबन दाहाल
थ्री नेसन्स् कपमा नेपाली राष्ट्रिय फुटबल टिमको कमजोर प्रदर्शन, एन्फाले खेलाडीको क्षमता बढाउने कार्यक्रम ल्याउनै सकेन (रिपोर्ट)

काठमाडौं । ३९ वर्षसम्म भुटानमाथि लगातार जित हात पार्दै आएको नेपाली टोली काठमाडौंमा जारी थ्री नेसन्स कपमा बराबरीमा रोकियो । राष्ट्रिय फुटबल टिमले सन् १९९९ मा भएको साफमा भुटानमाथि अहिलेसम्मकै ठूलो अर्थात् ७-० को जित निकालेको थियो । त्यसयताका १३ वटा प्रतियोगितामा नेपालसँग पराजित भएको भुटान अहिले बराबरी गर्दै उच्च मनोबल बनाएर फर्कियो । यसले भुटानको फुटबलको स्तर सुधार भएको संकेत गर्दा नेपाली टोलीको अवस्था ठीक उल्टो देखियो ।

जारी थ्री नेसन्स कपमा नेपाल फुटवल संघ एन्फाले तुलनात्मक रुपमा कमजोर टिम बोलाएको आरोप खेपिरहेको छ । आफूभन्दा बलियो टिमसँग खेले मात्र स्तर बढ्छ । तर एन्फाले वरीयतामा तल रहेका भुटान र लाओसलाई बोलायो ।

यस हिसाबले नेपालले एकतर्फी जित हात पार्ने अनुमान थियो । नभन्दै पहिलो खेलमा घरेलु टोलीले लाओसमाथि दुई-शून्य गोलको जित हात पार्‍यो । नतिजा नेपालको पक्षमा आए पनि प्रदर्शन लाओसको राम्रो देखियो । खेलपछिको पत्रकार सम्मेलनमा लाओसका प्रशिक्षक हान्स मिचेल वाइसले नेपालको खेलस्तरको प्रशंसा त गरेनन् नै नेपाली टिम प्राविधिक र शारीरिक रुपमा निकै कमजोर रहेको प्रतिक्रिया दिए । नभन्दै भुटानसँगको खेलमा परिणाम देखियो । नेपालले भुटानसँग इतिहासमै पहिलोपटक बराबरी खेल्यो ।

लाओसविरुद्ध जित हात पारे पनि नेपालको खेल प्रसंसा गर्न लायक थिएन । भुटानसँगको खेलमा पनि नेपाल प्रायः दबाबमै रहृयो । यसले राष्ट्रिय टिममा नतिजा चाहने हो भने संरचनामा सुधारको खाँचो देखिएको छ ।

नेपाली टिमका नयाँ प्रशिक्षक भिन्चेन्सो अल्बेर्तो एनेसले भने नेपालको प्रदर्शन सुधार भएको दाबी गरे । तर कप्तान किरण चेम्जोङ अवस्था सन्तोषजनक नरहेको स्वीकार्छन् ।

त्यसो त पछिल्ला वर्षहरुमा नेपाली फुटबलको स्तरवृद्धिका लागि पर्याप्त प्रयास नै भएको छैन । बरु कमजोर मानिएको भुटानले उमेर समूहदेखि नै सुधार्दै गएको छ । मैदानको ९० मिनेटले फुटबलको स्तर मात्र देखाउँदैन, सम्बन्धित देशको फुटबल संघको योजना, लगानी र खेलाडीको मिहिनेतसमेत झल्किन्छ । अब फाइनलमा लाओससँग खेल्न लागेको नेपालले उपाधि जित्यो भने एन्फा त्यसैमा नरमाओस् । फुटबलको स्तर सुधारमा बेलैमा पहल नगरेमा जुनसुकै मुलुकसँग पनि पराजित हुन नपर्ला भन्न सकिँदैन ।


Image

रेबन दाहाल

दाहाल कान्तिपुर टीभीमा खेलकुद ब्युरोमा कार्यरत छन् ।