रोनाल्डो र राष्ट्रिय फुटबल टोलीबीचको सम्बन्ध जटिल मोडमा

आश्विन १५, २०८३
रोनाल्डो र राष्ट्रिय फुटबल टोलीबीचको सम्बन्ध जटिल मोडमा

काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र राष्ट्रिय फुटबल टोलीबीचको सम्बन्ध इतिहासकै सबैभन्दा जटिल मोडमा पुगेको छ। युएफा नेसन्स लिगअन्तर्गत डेनमार्कविरुद्धको खेलअघि प्रशिक्षण शिविर नै छाडेर रोनाल्डो स्पेन फर्किएपछि अन्तर्राष्ट्रिय फुटबल वृत्त तरङ्गित छ । नयाँ मुख्य प्रशिक्षक जोर्गे जिसससँगको विवाद, सुरुआती ११ मा नपर्दाको असन्तुष्टि र राष्ट्रिय टोलीबाट उनको सम्भावित सन्न्यासलाई लिएर अनेकौँ प्रश्न उठेका छन्। लगतै नाटकीय रुपमा उनको ७ नम्बर जर्सी राफाएल लियाओलाई दइएको छ ।

कोपनहेगनको पार्केन रङ्गशालामा डेनमार्कविरुद्धको खेलका लागि पोर्चुगिज टोली तयारीमा जुट्दै गर्दा, टोलीका ४१ वर्षीय कप्तान क्रिस्टियानो रोनाल्डो भने पोर्चुगिज फुटबल महासङ्घ - एफपीएफ को गाडीमा प्रशिक्षणस्थलबाट बाहिरिए। यस सङ्कटको बीजारोपण नर्वेविरुद्धको खेलबाट भएको थियो। वेल्सविरुद्धको १-० को जितमा सुरुआती ११ मा खेलेका रोनाल्डोलाई नर्वेविरुद्ध भने नयाँ मुख्य प्रशिक्षक जोर्गे जिससले ९० मिनेट नै बेन्चमा सीमित गराए। प्रशिक्षक जिससले खेलअघि रोनाल्डोलाई वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गराउने आश्वासन दिएका थिए। तर नर्वेविरुद्ध गोन्सालो रामोसले गोल गर्दै पोर्चुगललाई २-१ को जित दिलाएपछि जिससले रोनाल्डोलाई मैदानमा उतारेनन्।

१८ वर्षभन्दा बढी समयमा पहिलोपटक फिट हुँदाहुँदै पनि प्रतिस्पर्धात्मक खेलभर बेन्चमा रहनुपरेपछि रोनाल्डो क्रुद्ध बनेका थिए। खेलको अन्तिम ह्विसल बजेपछि उनी आफ्ना टिममेटहरूसँगै समर्थकलाई धन्यवाद दिन मैदानमा नबसी सिधै ड्रेसिङ रुमतिर लागे। त्यसपछिका दिनहरूमा विवाद झनै बढ्दै गयो । महासंघले रङ्गशालाको जिममा रोनाल्डोका लागि आवश्यक विशेष उपकरण नभएकाले होटलमै प्रशिक्षण गराइएको दाबी गरे पनि युरोपेली सञ्चारमाध्यमहरूले प्रशिक्षक र कप्तानबीच विवाद सुरु भएको समाचार सम्प्रेषण गरे। स्थिति तनावग्रस्त बनेपछि पोर्चुगिज फुटबल महासङ्घका अध्यक्ष पेड्रो प्रोएन्स मध्यस्थताका लागि कोपनहेगन पुगे। प्रोएन्सा, जिसस र रोनाल्डोबीच वार्ता भएता पनि बुधबारको पत्रकार सम्मेलनमा प्रशिक्षक जिससले आफ्नो अधिकारको बचाउ गरे। जिससले रोनाल्डोले प्रशिक्षण बहिष्कार नगरेको प्रष्टीकरण दिए तर डेनमार्कविरुद्ध गोन्सालो रामोसले नै सुरुआत गर्ने र रोनाल्डो पुनः बेन्चमै रहने घोषणा गरे। जिससले आफू मुख्य प्रशिक्षक भएको र टोली चयनको अधिकार आफ्नो रहेको बताए। उनले आफूलाई आवश्यक परे ३० मिनेट खेलाउने वा नभए नखेलाउने कुरा व्यक्त गरे। साथै, कुनै पनि खेलाडी वा महासङ्घ अध्यक्षले आफ्नो निर्णय बदल्न नसक्ने कुरा पनि उनले स्पष्ट पारे। प्रशिक्षक जिससको यो अडानलगत्तै रोनाल्डोले प्रशिक्षण क्याम्प छाड्ने निर्णय गरे। उनी मड्रिडबाट बोलाईएको आफ्नो प्राईभेट जेटमार्फत स्पेन फर्किए।

क्याम्पछाडेपछि रोनाल्डोले सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै प्रशिक्षकको पत्रकार सम्मेलन र महासंघका अध्यक्षसँगको कुराकानीपछि आफुले क्याम्प छाड्ने निर्णय गरेको र पोर्चुगिज समर्थकलाई टोली छाड्नुको वास्तविक कारण उचित समयमा बताउने उल्लेख गरेका छन् । पोर्चुगिज फुटबल महासङ्घले पनि रोनाल्डोले टोली छाडेको पुष्टि गर्दै बाँकी २४ खेलाडीका साथ आगामी खेलको तयारी जारी रहने जनाएको छ। यद्यपि, रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको औपचारिक घोषणा भने गरेका छैनन्। अर्कोतर्फ रोनाल्डोकी बहिनी एल्मा एभेइरोले सामाजिक सञ्जालमार्फत आफ्ना भाइको बचाउ गर्दै महासङ्घको संरचना र सञ्चारमाध्यमको व्यावसायिकतामाथि प्रश्न उठाएकी छन्।

यो विवाद केवल एउटा खेलको रणनीतिक चयनमा मात्र सीमित छैन, यसले रोनाल्डोको अद्वितीय अन्तर्राष्ट्रिय करिअरको भविष्यमाथि ठूलो प्रश्नचिह्न खडा गरेको छ। सन् २००३ मा डेब्यु गरेका रोनाल्डो २ सय ३४ अन्तर्राष्ट्रिय खेलमा १४६ गोल गर्दै पुरुष अन्तर्राष्ट्रिय फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता र सर्वाधिक खेल खेल्ने खेलाडी हुन्। उनको कप्तानीमा पोर्चुगलले युरो २०१६ र सन् २०१९ को नेसन्स लिगको उपाधि जितेको थियो।

यो संकटको पृष्ठभूमि सन् २०२६ को विश्वकपसँग पनि जोडिएको छ। विश्वकपको नकआउट चरणमा स्पेनसँग १-० ले पराजित भई पोर्चुगल बाहिरिएपछि रोबर्टो मार्टिनेजले पद छाडेका थिए र जोर्गे जिससलाई नयाँ प्रशिक्षक नियुक्त गरिएको थियो। लगातार छैटौँ विश्वकप खेल्ने र प्रत्येक विश्वकपमा गोल गर्ने इतिहासकै पहिलो खेलाडी बनेका रोनाल्डोले अमेरिका, मेक्सिको र क्यानडामा आयोजित सो प्रतियोगिता नै आफ्नो अन्तिम विश्वकप भएको पुष्टि गरिसकेका थिए।

त्यसपछि गत अगस्टमा रोनाल्डोले आउँदो सिजन आफ्नो फुटबल करिअरकै अन्तिम वर्ष हुनसक्ने सङ्केत समेत दिएका थिए। तर त्यसको केही समयपछि नै ९ सय ७९ करिअर गोल पुर्‍याइसकेका रोनाल्डोले आफू अझै पोर्चुगललाई योगदान दिन सक्षम रहेको र एक हजार गोलको कीर्तिमान बनाउने लक्ष्य राखेको बताएका थिए। अहिले फुटबल विश्वको ध्यान एउटै प्रश्नमा केन्द्रित छ— के रोनाल्डोको यो आकस्मिक बहिर्गमन नयाँ प्रशिक्षकसँगको भूमिकालाई लिएर उत्पन्न असन्तोष मात्र हो, वा यसले पोर्चुगलका लागि उनको २३ वर्ष लामो ऐतिहासिक करिअरको अन्त्यको सुरुआतलाई संकेत गर्दछ?