विश्व क्रिकेट लिग टुमा नेपाली क्रिकेट टोलीको कमब्याक (भिडियो रिपोर्ट)

फाल्गुन ९, २०७९ |कान्तिपुर टीभी संवाददाता
विश्व क्रिकेट लिग टुमा नेपाली क्रिकेट टोलीको कमब्याक (भिडियो रिपोर्ट)

काठमाडौं । नेपाली क्रिकेट टिमले घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शन गरी लिग टुमा कमब्याक गरेको छ । नेपालले सिरिजका चार वटै खेल जितेर इतिहास रच्दा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने सम्भावना उच्च बन्यो । अब नेपालले यूएईमा कस्तो प्रदर्शन गर्छ त्यसले आगामी यात्रा तय गर्नेछ ।

आईसीसी विश्व क्रिकेट लिग टुका अघिल्ला सिरिजमा नेपालले कमजोर ब्याटिङका कारण महत्वपूर्ण खेलहरु गुमाएको थियो । एसोसिएट राष्ट्रमध्ये सबैभन्दा बलियो देखिएको स्कटल्यान्डविरुद्ध पनि नेपालले जित हात पार्न सकेको थिएन ।

यता नामिबिया नेपालसहित स्कटल्यान्डलाई हराउँदै शीर्ष दुईमा रहेर लिग टु प्रतियोगिता टुंग्याउने लक्ष्यमा थियो । तर यो सिरिजमा नेपालले उत्कृष्ट पुनरागमन गर्दा गज्जबको ब्याटिङ प्रदर्शन गर्यो । शीर्ष स्थानमा रहँदै लिग टु टुंग्याएको स्कटल्यान्ड र नामिबिया दुवैलाई नेपालले पराजित गर्यो ।

चारवटै खेलमा टस जितेर फिल्डिङ गरेको नेपालले मंगलबार स्कटल्यान्डविरुद्ध २१३ रनको लक्ष्य पछ्याएको थियो । एक समय आठ विकेट गुम्दा १३८ रनको स्थितिमा रहेको नेपाललाई रोहित र करण केसीले कीर्तिमानी साझेदारी गर्दै सम्हाले ।

यी दुईले ७५ रनको साझेदारी गरे । जुन ओडिआइमा नेपालका लागि नवौ विकेटमा भएको उच्च हो । १२ हजार बढी समर्थकबीच भएको खेलमा रोहितले ९५ र करण ३१ रनमा अविजित रहे । रोहितले ४५ ओभरको पहिलो बलमा साफियान सरिफलाई चौका प्रहार गर्दै नेपाललाई २ विकेटको जित दिलाए ।

नेपालले लिग टुअन्तर्गत त्रिकोणात्मक सिरिजमा ८ अंक नै हात पारेको यो पहिलोपटक हो । कप्तान रोहित र प्रशिक्षक मोन्टी देशाईले पहिलो सिरिजमा चारवटा खेल जिताएका छन् । आफ्नो अन्तिम खेलमा जित हात पार्दै च्याम्पियन ट्रफी लिने सपना पूरा गर्न नसकेको स्कटल्यान्डले नेपालको खुलेर प्रशंसा गर्यो ।

अब नेपालले लिग टुमा यूएई र पपुवा न्युगिनीसँग गरेर आठ खेल खेल्न बाँकी छ । त्यसमध्ये चार खेल यूएई र चार घरेलु मैदानमा हुनेछन् । यूएईमा यही फागुन १५ गतेदेखि नेपाल, यूएई र पपुवा न्यूगिनी सम्मिलित त्रिकोणात्मक सिरिज हुनेछ । त्यसपछि फागुन २५ देखि त्रिवि मैदानमा खेल्नेछ । ८ मध्ये ५ जिते शीर्ष पाँचमा रहँदै ओडीआईले निरन्तरता पाउनेछ । सबै खेल जिते शीर्ष तीनमा रहँदै एकदिवसीय विश्वकप ग्लोबल छनोट खेल्ने सम्भावना पनि कायम हुनेछ ।

थप :

त्रिकोणात्मक सिरिजमा नायक बनेका रोहितका ७ मुद्रा (फोटो फिचर)

अभ्यस्त पिचका कारण सफलता पायौं : कप्तान पौडेल

आईसीसी विश्वकप क्रिकेट लिग टु : घरेलु मैदानमा नेपालको लगातार चौथो जित, स्कटल्यान्ड २ विकेटले पराजित

आजको खेलमा पनि स्कटल्यान्डका खेलाडीले सन्दीपसँग हात मिलाएनन्

किन सन्दीपसँग हात मिलाएनन् स्कटल्यान्डका खेलाडीले ?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.