बलियो टोलीसँग क्रिकेट खेल्न मौका पाएका छौं : कप्तान पौडेल

फाल्गुन २८, २०७९ |कान्तिपुर टीभी संवाददाता
बलियो टोलीसँग क्रिकेट खेल्न मौका पाएका छौं : कप्तान पौडेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एक दिवसीय मान्यता जोगिएपछि आगामी दिनमा बलियो टोलीसँग थप क्रिकेट खेल्ने मौका पाउने धारणा राखेका छन् ।

भ्रमणकारी टोली यूएईविरुद्ध आइतबार १७७ रनको फराकिलो जित निकालेपछिको पत्रकार सम्मेलनमा कप्तान रोहितले एक दिवसीय मान्यतपछि नेपालले बलियो टोलीसँग खेल्दै थप अनुभव बटुल्ने मौका मिल्ने जनाए ।

उनले विश्वकप छनोट पुग्न थप दुई खेलमा सुखद् नतिजा निकै महत्त्वपूर्ण रहेको भन्दै ती खेलमा पनि केन्द्रित हुने प्रतिक्रिया दिए । टोलीमा नयाँ प्रशिक्षक मोन्टी देशाई आएसँगै खेलाडीलाई खुलेर खेल्ने अवसर भएको सोहीअनुसार सबै खेलाडीले मिहिनेतका साथ खेल्दा सफलता मिलेको कप्तान रोहितको भनाइ छ । एक दिवसीय मान्यता कायम भएसँगै नेपाली क्रिकेट थप व्यस्त हुने र धेरैभन्दा धेरै खेलाडीले मौका पाउने उनले जनाए ।

यस्तै नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाईले नेपाल क्रिकेट संघसँग जोडिएको दिनदेखि टोली बनाउन लागेको र अहिलेसम्मको यात्रा सुखद् भएकामा खुसी व्यक्त गरे । आफ्नो रणनीति हरेक खेलमा सफल हुने गरेको र खेलाडीलाई दिइएको भूमिकालाई खेलाडीलाई राम्रोसँग निभाएको उनको प्रतिक्रिया थियो । खेलअघि केही कठिन निर्णय गर्नुपरेको र रणनीति बनाउँदा आफू सफल भएकामा उनले खुसी व्यक्त गरे ।

यता खेलमा सर्वाधिक पाँच विकेट निकालेका स्पिनर ललितनारायण राजवंशीले जितको सदस्य बन्दा खुसी लागेको प्रतिक्रिया दिए । उनले आफू टिमबाहिर रहे पनि टोलीको जितमा निकै खुसी भएको र टिम पर्नैपर्ने आकंक्षा आफूमा नभएको जनाए । एक दिवसीय मान्यता पाएसँगै नयाँ खेलाडीले अवसर पाउने र नेपालले अन्य बलिया टोलीसँग अनुभव बटुल्ने अवसर मिल्ने उनको भनाइ छ ।

यस्तै गुल्सन झाले पनि प्रशिक्षकले दिलाएको भूमिकामा आफूले न्याय दिन सकेकोमा खुसी व्यक्त गरे ।

लिग टूअन्तर्गत नेपालले अब दुई खेल खेल्न बाँकी छ । यसैअन्तर्गत नेपालले सोमबार अर्को भ्रमणकारकी टोली पपुवा न्युगिनी (पीएनजी) सँग खेल्नेछ । नेपालले अब दुई खेलमा सुखद् नतिजा निकाले विश्वकप छनोट खेल्ने मौका बनाउनेछ ।

यूएईविरुद्ध नेपालको शानदार जित, जाेगियो एकदिवसीय मान्यता


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.