यूएईविरुद्ध नेपालको शानदार जित, जाेगियो एकदिवसीय मान्यता

फाल्गुन २८, २०७९ |कान्तिपुर टीभी संवाददाता
यूएईविरुद्ध नेपालको शानदार जित, जाेगियो एकदिवसीय मान्यता

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग टूअन्तर्गत यूएईविरुद्धको आजको खेलमा नेपाल १७७ रनले विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला ब्याटिङ रोजेको थियो । ४९.२ ओभरमा अल आउट भएको नेपालले यूएई २४९ रनको लक्ष्य दिएको थियो । 

जवाफी ब्याटिङमा उत्रिएको यूएईले राम्रो प्रदर्शन गर्न सकेन । ७१ रन बनाउँदै यूएई २२.५ ओभरमा अलआउट भयो ।

जारी सिरिजमा यो नेपालको लगातार दोस्रो जित हो । जितसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई सन् २०२७ सम्म निरन्तरता दिएको छ । 

ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसकेको यूएईका ओपनर भ्रिटिया अरभिन्द खाता नखोली मैदानबाट बाहिरिए । अर्का ओपनर असिफ खान पनि चल्न सकेनन् । उनी १२ बल खेल्दै ६ रन बनाएर आउट भए । 

आयान अफ्जल खानले ३३ बलमा २९ रन बनाए । उनले दुई चौका र दुई छक्का प्रहार गरे । अस्वान्थ भल्थापाले १४ र पलानियापन मैयप्पनले ११ रन बनाउँदा अरु खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।

नेपालका तर्फबाट ललित राजवंशीले सर्वाधिक ५ विकेट लिए । सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान १/१ विकेट लिए । 

पहिला ब्याटिङ रोजेको नेपालले सुखद सुरुवात गर्न सकेको थिएन । दोस्रो ओभरमा पहिलो विकेट गुमाएको थियो । आयान लाक्राको बलमा बोल्ड हुँदै आसिफ सेख खाता खोल्न नपाइ पेभेलियन फर्किए । चार दशमलव तीन ओभरमा अर्का ओपनर कुशल भुर्तेल मैदान बाहिरिए । सुरुवाती तीन ब्याटरले दोहोरो बनाउन नपाई मैदान बाहिरिएपछि धर्मराएको नेपाललाई कप्तान रोहित पौडेल र भीम सार्कीले सम्हाले ।

भीम ३७ बलमा ४ चौका हान्दै २९ रनमा आउट भए । कठिन स्थितिमा रोहितले ११२ बलमा ७७ रन जोडेर पभेलियन फर्किए ।

यूएईका लागि आयन अफ्जल खान, जहुर खान, रोहन मुस्ताफा र जवर फरिदले समान २/२ विकेट लिएर भने आर्यन लाक्रा, जुनैद सिद्दिकीले १/१ विकेट लिए । 

अब नेपालले तेस्रो खेल भोलि (सोमबार) पीएनजीसँग र अन्तिम खेल बिहीबार यूएईसँग खेल्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement