च्याम्पियन बन्ने दाउमा मछिन्द्र (भिडियो रिपोर्ट)

फाल्गुन १४, २०७९ |रेबन दाहाल
च्याम्पियन बन्ने दाउमा मछिन्द्र (भिडियो रिपोर्ट)

झापा । काठमाडौंको मछिन्द्र क्लबले २०७७ र ७८ सालको लिग जितेको थियो । यो संस्करणको लिग उपाधि पनि जितेमा मछिन्द्रले मनाङ मर्याङ्दी क्लबले सन् १९८६, १९८७, १९८९ तथा नेपाल पुलिस क्लबले सन् २००७, २०१० र २०११ मा राखेको ह्याट्रिकको रेकर्ड बराबरी गर्नेछ ।

अघिल्लो संस्करण लिग जित्दाका खेलाडी सुजल श्रेष्ठले यो संस्करण मछिन्द्र क्लबको कप्तानी भूमिका निर्वाह गर्नेछन् । क्लबमा विमल घर्ती मगर, रजिन धिमाल, देबेन्द्र तामाङ, छिरिङ गुरुङ, विशाल श्रेष्ठ जस्ता अनुभवी खेलाडीले निरन्तरता पाउनेछन् ।

पुजन उपरकोटी, सुरजज्यू ठकुरी, सौरभ लिम्बु, निशेन सुब्बा, प्रशान्त अवती जस्ता नयाँ खेलाडीलाई पनि क्लबले अनुबन्ध गरेको छ । मिडफिल्डर विशाल राई विदेश पलायन भएपछिको अभाव पूर्तिका लागि भारतीय खेलाडी दयानन्द सिंह टिमसँग जोडिएका छन् भने अलि छबानी फोफाना जस्ता विदेशी खेलाडीलाई लिग खेलाउने मच्छिन्द्रको तयारी छ । अभिषेक रिजाल, मनिष डाँगी, सुनिल बल जस्ता खेलाडीले पनि स्थानान्तरणको बाटो रोजेका छन् ।

अघिल्ला दुबै संस्करण टिमलाई उपाधि दिलाएका प्रशिक्षक प्रवेश कटुवालले यो संस्करणका लागि सम्झौता गरिसका छैनन् । तर, मोफसलका विभिन्न गोल्डकपमा टिमको प्रशिक्षण सम्हालेका उनैले मच्छिन्द्रको टच लाइन सम्हाल्ने सम्भावना छ ।

मछिन्द्रले गतसाता सम्पन्न सर्लाहीको राजर्षीजनक गोल्डकपको उपाधि जितको थियो । क्लब अहिले भद्रपुर झापा गोल्डकपमा समेत सहभागी छ । यस्तै केपी ओली कपसमेत खेलेर मछिन्द्र लिगमा सहभागिता जनाउने तयारीमा छ । क्लबले फागुन २१ गते दशरथ रंगशलामा जावालाखेल युथ क्लबसँग खेल्दै लिग थालनी गर्नेछ ।


Image

रेबन दाहाल

दाहाल कान्तिपुर टीभीमा खेलकुद ब्युरोमा कार्यरत छन् ।