आईसीसी विश्वकप क्रिकेट लिग टु : घरेलु मैदानमा नेपालको लगातार चौथो जित, स्कटल्यान्ड २ विकेटले पराजित

फाल्गुन ९, २०७९ |कान्तिपुर टीभी संवाददाता
आईसीसी विश्वकप क्रिकेट लिग टु : घरेलु मैदानमा नेपालको लगातार चौथो जित, स्कटल्यान्ड २ विकेटले पराजित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टुअन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल दुई विकेटले विजयी भएको छ । लिगमा नेपालको यो लगातार चौथो जित हो ।

टस जितेर फिल्डिङ रोजेको नेपाललाई स्कटल्यान्डले २१३ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा स्कटल्यान्डले ४६ ओभर १ बलमा सबै विकेट गुमाउँदै २१२ रन बनाएको थियो ।

नेपालविरुद्धको खेलमा स्कटल्यान्डका जर्ज मुन्सीले अर्धशतक पूरा गर्दै सर्वाधिक ६० रन बनाए । उनले ५० बलको सामना गर्दै ९ चौका र २ छक्का प्रहार गरे । यस्तै, म्याथ्यु क्रसले ४ चौका र १ छक्का प्रहार गर्दै ४२ रन जोड । ब्रेन्डन म्याकमुलेनले ४८ बलमा ३ चौकासहित ३१ रन बनाए । यसैगरी, ओपनर काइल कोएत्जर र क्रिस्टोफर म्याकब्राइडले समान २२-२२ रनको योगदान गरे ।

नेपालको कसिलो बलिङकासामु अन्य ब्याटरहरुले भने दोहोरो अंकको रन जोड्न सकेनन् । कप्तान रिची बेरिङटोन र माइकल लिस्क शून्य रनमा आउट भए भने टोमस म्याकिन्टसले १ रन बनाए । यस्तै, क्रिस ग्रेभ्सले ७, मार्क वाटले ८ रन बनाए भने सफिआन शरिफ ८ रन बनाउँदै अविजित रहे ।

नेपालका सन्दीप लामिछानेले आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिए । उनले एकै ओभरमा लगातार दुई विकेट लिएका थिए । योसँगै लामिछानेले जारी सिरिजमा १४ विकेट पूरा गरेका छन् ।

यस्तै, करण केसीले २ विकेट लिँदा ललित राजवंशी र कुशल मल्लले १-१ विकेट लिए । १ विकेट दीपेन्द्रसिंह ऐरीले रनआउट गरेका थिए ।

नेपालले आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई दुई विकेटले हराउँदै कीर्तिमानी जित हात पारेको हो । नेपालका लागि रोहित पौडेलले कप्तानी पारि खेले ।

जवाफमा उत्रिएको नेपालको सुरुवात गतिलो हुन सकेन । ओपनर कुशल भुर्तेल टिमको स्कोर मात्रै एक रन हुँदा एक दशमलव एक ओभरमा मैदान बाहिरिए । उनलाई मार्क वाटले एलबीडब्ल्यू आउट गरेका हुन् । अर्का ओपनर आरिफ सेख १२ रनमा पेभेलियन फर्किए । ज्ञानेन्द्र मल्लले मात्रै २१ रनमा मैदान बाहिरिए । कुशल मल्ल १७ रनमा आउट भए । सन्दीप जोरा एक, दीपेन्द्र ऐरी ७, सोमपाल कामी २ र सन्दीप लामिछाने ९ रनमा आउट भएपछि नेपाल कमजोर अवस्थामा पुगेको थियो ।

तर, कप्तान रोहित पौडेल र करण केसीले ७५ रनको अविजित साझेदारी गरी टिमलाई जित दिलाएका हुन् । रोहितले एक सय एक बलमा ९५ रन बनाए । उनले सात चौका र चार छक्का प्रहार गरे । रोहितले कप्तानी पारी खेल्दै ५४ बलमा चार चौका र दुई छक्काको मद्दतमा अर्धशतक पूरा गरेका थिए । रोहितको एक दिवसीय सातौं अर्धशतक हो । करण केसीले ३१ रन हिर्काए ।

यसअघि पहिलो खेलमा नेपालले स्टकल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो ।

सम्बन्धित समाचार...

आजको खेलमा पनि स्कटल्यान्डका खेलाडीले सन्दीपसँग हात मिलाएनन्

किन सन्दीपसँग हात मिलाएनन् स्कटल्यान्डका खेलाडीले ?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement