फिफाको निलम्बनपछि संकटमा नेपाली फुटबल, साफ च्याम्पियनसिप गुम्ने खतरा

आश्विन १४, २०८३ |सविना कार्की
फिफाको निलम्बनपछि संकटमा नेपाली फुटबल, साफ च्याम्पियनसिप गुम्ने खतरा

काठमाडौं । अहिले फुटबलको इन्टरनेसनल विन्डो चलिरहेको छ । 

घरेलु लिगमा ब्रेक भएको समयलाई सम्बन्धित देशको फुटबल संघले अन्तर्राष्ट्रिय प्रतियोगिता, मैत्रीपूर्ण खेलका लागि उपयोग गर्छन् । तर, नेपालको हकमा भने न घरेलु लिग छ, न त इन्टरनेसनल विन्डो नै । नेपाली फुटबलमा ब्रेक लागेको धेरै समय भइसक्यो । 

हुँदा हुँदा अब त नेपालले दक्षिण एसियाको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप नै गुमाउने खतरा बढेको छ । ८० को दशकमा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेको नेपाल यति नाजुक अवस्थामा कहिल्यै पुगेको थिएन । 

अर्ली इलेक्सनबाट सुरु भएको विवादले अखिल नेपाल फुटबल संघलाई फिफाको निलम्बनसम्म पुर्यायो । जसका कारण नेपालले पहिलो पटक दक्षिण एसियाको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप गुमाउने खतरामा छ । 

सहभागीताको सुनिश्चितता गर्न साफले ३० सेप्टेम्बर अर्थात् बुधबार राति १२ बजेसम्मको समय दिएको छ । साफका महासचिव पुरुषोत्तम कट्टेलका अनुसार एन्फाबाट अहिलेसम्म कुनै अपटेड छैन । साफमा नेपालको सहभागीतालाई लिएर सरकार पनि गम्भिर देखिँदैन ।

डाइङ सिच्युएसनमा रहेको नेपाली फुटबलले कहिले जीवन पाउँछ भन्ने जवाफ न नियमनकारी निकाय एन्फासँग न त सरकारसँग नै । सरकारी हस्तक्षेप भयो भन्दै गत असारमा फिफाले एन्फालाई निलम्बन गर्यो । सरकारले फिफासँग निरन्तर संवादमा रहेको बताए पनि अहिलेसम्म क्लारिटी आएको छैन । 

शहिद स्मारक ‘ए’ डिभिजन लिग नभएको तीन वर्षभन्दा बढी भइसक्यो । भइरहेको राष्ट्रिय लिग बीचमै रोकियो । भदौमा आयोजना गर्ने भनिएको नेपाल सुपर लिग पनि हुन सकेन । अब साफ पनि गुम्ने सम्भावना बढ्दै गएपछि खेलाडी थप पीडामा छन् ।

यही असोज १ गते निलम्बित एन्फाले पत्रकार सम्मेलन गर्दै सरकारले पहल नगरे आफ्नो हिसाबले काम सुरु गर्ने बताएको थियो । तर, त्यसको केही दिनमै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एन्फामा छापा मार्यो । एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जिव पाण्डे अहिले सीआईबीको हिरासतमा छन् । 

अध्यक्ष पंकज नेम्वाङ र महासचिव किरण राई सम्पर्कविहीन छन् । सरकारका प्रवक्तासमेत रहेका सस्मित पोखरेलले एन्फामाथिको अनुसन्धान लम्बिने बताउनुले निलम्बन अझै बढ्ने संकेत गर्छ । साफको १५औं संस्करण आगामी नोभेम्बर ५ मा बंगलादेशमा हुँदैछ । 

साफले नेपालबिनाको खेल तालिका सार्वजनिक गरिसकेको छ । अक्टोबर ८ सम्म सहभागी टीमले नाम दर्ता गर्नुपर्ने छ । के नेपालले बुधबारको डेडलाइन मिस गरे साफ खेल्ने सम्भावना रहन्छ ?

यसअघिका सबै संस्करण खेलेको नेपाल सधैं उपाधिको दाबेदार टिम हो । स्वदेशमा फुटबल चलायमान नहुँदा राष्ट्रिय टिमका केही खेलाडी अहिले बंगलादेशको लिग खेलिरहेका छन् । केही खेलाडी नेपालका विभिन्न ठाउँमा भइरहेका स्थानीय प्रतियोगितामै सीमित हुनुपर्ने बाध्यता छ ।


Image

सविना कार्की

कार्की कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।