भलिबलको नयाँ शक्ति को ? (भिडियो रिपोर्ट)

माघ ४, २०७९ |रेबन दाहाल
भलिबलको नयाँ शक्ति को ? (भिडियो रिपोर्ट)

काठमाडौं । घरेलु भलिबलमा निरन्तर प्रभुत्व जमाउँदै आएको न्यु डायमन्ड एकेडेमीलाई पाँच सेटमा पराजित गरेपछि नेपाल पुलिसको महिला टिम एक दशकपछि एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियन बन्यो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको पुलिसले उपाधि मात्र जितेन, घरेलु भलिबलमा अन्य टिमको चुनौती पन्छाउँदै पुनरागमनको सन्देश पनि दियो । प्रतियोगिताकै सर्वोत्कृष्ट उषा भण्डारी, कामना विष्ट, मनीषा चौधरी, लक्ष्मी चन्दसहितको भलिबल टिमलाई पुलिसले स्वर्णीम पुस्ता मानेको छ ।

२०६९ तिर नेपाल पुलिसको महिला भलिबल टिम सशक्त थियो । नीता शाह, चूडा खड्का, इन्दिरा कठायत, पार्वती अर्याल, नीमा श्रेष्ठ, मोती भाटसहितका खेलाडीको प्रदर्शनले घरेलु भलिबलमा पुलिसको वर्चश्व रहन्थ्यो । यो टिम पहिलो संस्करणकै एनभीए क्लब च्याम्पियन बनेको थियो । पुरानो पुस्ताले टिम छोडेपछि भने पुलिसलाई लय भेट्नै मुस्किल पर्यो । एक दशकपछि नयाँ पुस्ताले क्लबलाई फेरि एनभीए च्याम्पियन बनाएको छ ।

बितेको दश वर्ष पुलिस एनभीए कपको फाइनलनै पुगेन । पुराना खेलाडी र प्रशिक्षक सुरेशकुमार रिमालले छोडेपछि कमजोर बनेको पुलिसको महिला टिम अहिले रुपेश विष्टले टिम सम्हालिरहेका छन् ।

घरेलु भलिबलमा महिलातर्फ पुलिससहित विभागीय आर्मी र एपीएफ तथा न्यु डायमन्ड र गण्डकी प्रदेशले मात्र नियमित प्रतियोगिता खेल्दै आएका छन् । प्रायः प्रतियोगितामा तीन विभागीय र न्यु डायमन्ड नै हाबी हुन्छन् । यी टिमबीच खासै अन्तर छैन । तर, पुलिसका युवा खेलाडीको प्रदर्शन हेर्ने हो भने आगामी केही वर्ष घरेलु भलिबलमा पुलिस हाबी हुनसक्ने देखिन्छ ।

नियमित प्रशिक्षण र रोजगारीको समेत अवसर हुँदा पछिल्लो समय खेलाडीको रोजाइमा पुलिसको भलिबल टिम परेको छ । गत वर्ष सम्पन्न एनभीए क्लब लिगको उपाधि जितेपछि घरेलु भलिबलमा आर्मीको महिला टिमको उदय भएको थियो । यसपालि एपीएफ र न्यु डायमन्डको प्रभुत्व तोडेको नेपाल पुलिस क्लब महिला भलिबलको नयाँ शक्ति बन्ने निश्चित छ । 


Image

रेबन दाहाल

दाहाल कान्तिपुर टीभीमा खेलकुद ब्युरोमा कार्यरत छन् ।