बक्सिङ : नेपाली खेलाडी दुई वर्षमा ७ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी

माघ २, २०७९ |रेबन दाहाल
बक्सिङ : नेपाली खेलाडी दुई वर्षमा ७ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी

काठमाडौं । व्यवसायिक बन्ने क्रममा रहेको नेपाली बक्सिङले राष्ट्रिय प्रतियोगिता र अभ्याससँगै अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता बढाउँदै लगेको छ । पछिल्ला दुई वर्षभित्र ७ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका बक्सिङ खेलाडीले तीन मेडल जितेका छन् । युवा टोली एसियालीस्तरको अर्को प्रतियोगिता अन्डर ट्वान्टी थ्री बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउन प्रस्थान गरेको छ । युवा खेलाडीका लागि यो अनुभव बटुल्ने ठूलो अवसर पनि हो ।

जनवरी १६ देखि २७ सम्म थाइल्यान्डमा हुने एसियन अन्डर ट्वान्टी थ्री बक्सिङ च्याम्पियनसिपमा नेपालका ६ बक्सर सहभागी हुँदै छन् । फिलिपिन्स, थाइल्यान्ड, जापानलगायत विश्व बक्सिङका उत्कृष्ट खेलाडी प्रतियोगितामा सहभागी हुनेछन् । ४८ केजी तौल समूहमा सुष्मा तामाङ, ५७ केजी तौल समूहमा हेमा राई र ७५ केजी तौल समूहमा त्रिशा जबेगूले नेपालको प्रतिनिधित्व गर्नेछन् । पुरुषतर्फ ४८ केजी तौलमा लालप्रसाद उप्रेती, ५७ केजीतर्फ इन्द्रबहादुर सुनार र ८६ केजीमा विजय बाटा सहभागी हुनेछन् ।

कुनै पनि खेलाडी १८ वर्ष पूरा भएपछि मात्र बक्सिङका आधिकारिक प्रतियोगितामा सहभागी हुन पाउँछन् । विश्व बक्सिङमा २२ देखि २६ वर्षसम्मका खेलाडी पिक फर्ममा रहने गरेका छन् । नेपाली खेलाडीले भने उमेर छँदा पर्याप्त अभ्यास र एक्सपोजर नपाएको गुनासो गर्छन् । पछिल्ला दुई वर्षमा नेपाली बक्सिङ खेलाडीले विभिन्न सात अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको मौका पाएका छन् । यो राष्ट्रिय खेलकुद परिषद्‌मा आबद्ध अन्य खेल संघको भन्दा धेरै हो । संघले आसन्न एसियन गेम्स, ओलम्पिक छनोटलगायतमा सहभागिता लक्षित गर्दै बक्सिङका युवा खेलाडीलाई प्राथमिकतामा राखेको छ ।

प्रचुर सम्भावना भएर पनि दक्षिण एसियामा नेपालको बक्सिङ प्रदर्शन मध्यम छ । १३औं सागमा नेपालले ऐतिहासिक तीन स्वर्ण जितेको थियो । अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने योजनासहित नेपालले अन्तर्राष्ट्रिय सहभागिता र अभ्यासलाई प्राथमिकतामा राखे पनि संघ आफैं व्यावसायिक बन्ने र एकेडेमी स्थापना गरेर खेलाडी उत्पादन गर्नेतर्फ भने अझै ध्यान दिएको छैन । 


Image

रेबन दाहाल

दाहाल कान्तिपुर टीभीमा खेलकुद ब्युरोमा कार्यरत छन् ।