खस्कँदो अवस्थामा मनाङ-मर्स्याङ्दी क्लब

पुस २८, २०७९ |रेबन दाहाल
खस्कँदो अवस्थामा मनाङ-मर्स्याङ्दी क्लब

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा ८ पटकको कीर्तिमानी विजेता मनाङ-मर्स्याङ्दी घरेलु फुटबलको सबैभन्दा सफल क्लब मानिन्छ । फुटबल हस्ती स्वर्गीय मणि शाहदेखि विराटजंग रायमाझी, अजर अधिकारी, बाल गोपाल महर्जन, उपेन्द्रमान सिंह, अञ्जित बस्नेत, केशाङ लामासहितले मनाङमा खेलेका थिए । तर, पछिल्लो समय स्टार खेलाडीलाई टिकाएर राख्‌न र नयाँ खेलाडी उत्पादनमासमेत ध्यान दिन नसक्दा क्लब संकटमा छ ।

अघिल्लो संस्करणको सहिद स्मारक ए डिभिजन लिगमा कप्तानी भूमिका निर्वाह गरेका स्टार मिडफिल्डर अन्जन बिस्टले लामो गुनासोसहित मनाङबाट अलग भएको घोषणा गरे । आफ्नो ड्रिम क्लब भए पनि केही व्यक्तिले क्लबको हितभन्दा बाहिर चलाउन खोजेको अन्जनको आरोप थियो ।

पुजन उपरकोटि, विमल राना, दिनेश राजबंसी, रुपेश केसी, दीपक राई लगायत पुराना खेलाडी पनि यो सिजन मनाङमा हुने छैनन् । क्लब व्यवस्थापन र खेलाडीबीच सुमधुर सम्बन्ध नहुँदा पछिल्लो समय मनाङलाई खेलाडी जोगाउनै मुस्किल छ । 

मनाङ यो सिजन कुनै पनि उपाधिमा दाबेदारी देखाउने स्थितिमा छैन । 

कुनै समय मनाङले घरेलु फुटबलकै महंगो तथा कीर्तिमानी पारिश्रमिकमा खेलाडी अनुबन्ध गर्ने गरेको थियो । स्थापनाकालदेखि नै मन खोलेर खर्च गर्ने क्लबको रूपमा मनाङले साख कमाएको थियो । तर त्यसलाई जोगाउन सकेन ।

मनाङले पछिल्लोपटक २०७५ को लिग जित्दा टिममा तत्कालीन राष्ट्रिय टोलीका कप्तान बिराज महर्जनसहितका स्टार खेलाडीको बाहुल्यता थियो । व्यवस्थापनसँग खटपट भएका कारण त्यसपछिको सिजन मनाङ छोडेर अधिकांश खेलाडी मच्छिन्द्रमा प्रवेश गरे । तिनैको भरमा मच्छिन्द्रले लगातार दुई लिग जित्दा मनाङ भने तेस्रो र पाचौँ भयो । सम्भवतः मनाङ यो सिजन कुनै पनि उपाधिमा दाबेदारी देखाउने स्थितिमा छैन ।

कतिपय क्लबले खेलाडीलाई पारिश्रमिक नदिएका बेलासमेत मनाङले खेलाडीलाई भुक्तानी गरिरह्यो । तर, ४० वर्षे इतिहासमा लिग खेलेर कहिले पनि नाफा नभएको क्लब पदाधिकारीहरू बताउँछन् । अहिलेसम्म राजधानीलाई आधार बनाएर फुटबल खेलिरहेको मनाङ अब गण्डकी प्रदेश र पोखरालाई घरेलु मैदान र आधार क्षेत्र बनाउने योजनामा छ । त्यसैले पनि मनाङले केही समय स्टार खेलाडी अनुबन्ध नगर्ने जनाएको छ । 


Image

रेबन दाहाल

दाहाल कान्तिपुर टीभीमा खेलकुद ब्युरोमा कार्यरत छन् ।