विश्व क्रिकेट लिग टु : जितविहीन बनेर फर्कियो नेपाल

मंसिर २२, २०७९ |रेबन दाहाल
विश्व क्रिकेट लिग टु : जितविहीन बनेर फर्कियो नेपाल

विन्डहोक । विश्व क्रिकेट लिग टु अन्तर्गत नामिबिया भ्रमणमा नेपाल जितविहीन बनेको छ । अन्तिम खेलमा नेपालले स्कटल्यान्डसँग ८ विकेटको पराजय बेहोर्यो । फेरि पनि पराजयको कारण कमजोर ब्याटिङ प्रदर्शन नै रह्यो । 

विन्डहोक स्थित युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा टस जितेपछि नेपालले पहिले ब्याटिङ थालेको थियो । पावरप्लेमा दुबै ओपनरसहित तीन विकेट गुमाएको ब्याटिङ लाइन अन्तिम सम्म सम्हालिन सकेन । तेस्रो बलमा ओपनर अर्जुन साउद खाता नखोल्दै आउट भए ।

चौथो ओभरको पहिलो बलमा अर्का ओपनर आसिफ सेख पनि १ रनमा पेविलियन फर्किए । ९ रन बनाउँदै अनुभवी ज्ञानेन्द्र मल्ल एलबीडब्ल्यू धरापमा पर्दा, दीपेन्द्रसिंह ऐरिले १४ रन मात्र बनाउन सके । आरिफ सेख ६,  हरिसंखर साह १,  गुलसन झा ५ रनमा आउट भए ।

सर्वाधिक ४७ रन बनाएका कप्तान रोहित पौडेल आठौँ विकेटको रूपमा २६ औं ओभरमा आउट हुँदा नेपाल झनै नाजुक स्थितिमा पुगेको थियो । नवौँ विकेटका लागि सोमपाल कामी र ललित राजवंशीले २६ रनको साझेदारी गरेपछि नेपालले १ सय रनकोको स्कोर भने पुरा गरेको थियो । सोमपाल १६ र ललित ११ रनमा आउट भए । मार्क वाट, सुफियान सरिफ, ब्रेन्डन मेक मुलेनले दुई दुई विकेट लिए ।

१ सय २० रनको लक्ष स्कटल्यान्डले १७ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो । जर्ज मुन्से २८ बलमा ४५ रन बनाउँदै आउट भए । कायल कोट्जरले १६ रन जोडे । कोट्जरलाई गुलसन र मुन्सेलाई दीपेन्द्रले एलबीडब्ल्यू धरापमा पारेका थिए । क्रिस्टोफर मेक ब्राइड ४६ र रिकी बेरिङटोन १२ रनमा अविजित रहँदै स्कटल्यान्डलाई सहज जित दिलाए ।

खराब ब्याटिङका कारण नेपालले यसअघिका खेलमा पराजय बेहोर्दा नामिबियासँगै एक खेल भने वर्षाले रद्द भएको थियो । भ्रमणमा नामिबियाविरुद्ध ज्ञानेन्द्र मल्लले ७५ रन बनाउनु नै नेपालको एक मात्र अर्धशतकीय पारी बन्यो । लिग टु मा नेपालको यो लगातार पाचौँ हारसमेत हो ।

नेपाल २४ खेलमा १८ अंकसहित छैटौँ स्थानमा छ । तालिकाको शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेल्ने नेपालको सम्भावना लगभग सकिएको छ । शीर्ष ५ मा रहँदै एकदिवसिय मान्यता जोगाउन भने नेपालले १२ मध्ये बाँकी ९ खेलमा अनिवार्य जित निकाल्नुपर्नेछ । 


Image

रेबन दाहाल

दाहाल कान्तिपुर टीभीमा खेलकुद ब्युरोमा कार्यरत छन् ।