
प्यूठान । हामी नेपाली संस्कृतिका धनी छौं । ठाउँअनुसार बसोबास गर्ने सबै जातजातिका आ-आफ्नै संस्कृति र परम्परा छन्।
यसकाे एक उदाहरण हो प्यूठानको उत्तरी क्षेत्र अर्खामा मनाइने लाटानाच । गाउँमा भोकमरी र विपत्ति नआओस् भन्दै हरेक दुई-दुई वर्षमा लाटानाच नाच्ने गरिन्छ । दुई बालबालिकाको मृत्यु भएपछि उनीहरुको आत्माले गाउँमा त्रास फैलाएको र पछि उनीहरुको आत्मा शान्तिका लागि झाक्री बोलाएर नाच देखाउन सुरु गरिएको किम्वदन्ती छ । यसैसँग जोडिएको नाच हो प्यूठानको अर्खामा नाचिने लाटा नाच ।
नेपालको संस्कृति भित्रका भिन्न प्रकारको पहिचान बोकेको लाटानाच गाउँमा विपत्ति नआओस्, बाढी पहिरोले क्षति नपुर्याओस् र भोकमरी नलागोस् भन्दै हरेक दुई दुई वर्षको अन्तरालमा साउन २ गते नाच्ने गरिन्छ । जनजाति र दलित समुदायले आ-आफ्नै झाक्री बोलाएर विभिन्न भेषमा सजिएका युवा र झाक्रीहरुको सयुक्त प्रयासमा यो नाच नाच्ने चलन छ ।
वर्षात् सुरु हुनुअघि हरेक दुई वर्षमा यो नाच गाउँमा गर्नेपर्ने परम्परा छ । लाटानाच ननाचे गाउँमा विपत्ति आउने बुढापाका बताउँछन् । विभिन्न भेषमा सजिएका युवा र झाक्रीले नाच देखाउँछन् । लाटानाच प्यूठानको उत्तरी क्षेत्रको एक चर्चित नाच समेत हो ।
परम्परागत रुपमा नाचिँदै आएको नाचले अर्खा र समग्र उत्तरी क्षेत्रको सांस्कृतिक पहिचान बोकेको छ भने यसले पर्यटन विकासमा टेवा पुर्याउने स्थानीयको विश्वास छ ।