राँकोको उज्यालोसँगै साउने सङ्क्रान्ति, रुकुमका गाउँमा जीवित परम्परा

श्रावण १, २०८३ |महेश केसी
राँकोको उज्यालोसँगै साउने सङ्क्रान्ति, रुकुमका गाउँमा जीवित परम्परा

रुकुम पूर्व । हरेक वर्षको साउने साङ्क्रान्तिका दिनमा रुकुम पूर्व र पश्चिमका विभिन्न गाउँका घर–घरमा राँको बल्ने त्यसैको अगुल्टो फाल्ने चलन रहेको छ । 

शरीरमा लाग्ने रोगहरु निवारण हुने जनविश्वासका साथ यस भेगमा यस्तो चलन रहेको बताइन्छ । जिल्लाका प्रायः गाउँहरुमा विशेष गरेर दियालो (सल्लाको दाउरा) बालेर त्यसैको अगुल्टो समेत फाल्ने गरिन्छ । रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ पोखराका ८३ वर्षीय देव बहादुर खत्रीले उहिले शरीरमा चिलाउने रोग ‘लुतो’ खुबै लाग्ने र यसको संक्रमण नहोस् भनेर यो चाडलाई मनाउने गरिएको बताउनुभयाे ।

‘केतुकेको पातमा ओख्खरका फल, सरेटो र चलाका पात अनि बनमा पाइने कुरिल्लो अनि पाते सिउडी आदी राखेर बिचमा दियालो बालेर ‘काइने–कुइने, लुतो–पुतो, काइने–कुइने लैजा हे, कालेराक्स ।’ भन्दै कराएर घरघरबाट अगुल्टो फाल्ने चलन हो ।’ खत्री भन्नुहुन्छ ‘औलमा मकै–धान लगाएपछि वस्तुभाउ लगेर लेक पुगेपछि राँके मनाउनुको रमाइलो नै बेग्लै हुन्थ्यो ।’

असारसम्म मकै गोडमेल सकिने अनि धान रोपेर पनि सकिने भएकाले अब शरीरमा कुनै पनि प्रकारका रोगहरु खासगरी घाउ-खटिरा नआउन् भनेर नै यो चाड मनाउने गरिएको सिस्ने–२ का ७७ वर्षीय जंगबहादुर खड्का बताउनुहुन्छ । ‘उहिले औल (बेसी)बाट लेक उक्लिएपछि डाँडा–डाँडामा रहेका बर्खे गोठमा लहरै राको बाल्ने गरिन्थ्यो । यसो गर्दा वरीपरी कहाँ–कहाँका गोठालाहरु पुगे भन्ने समेत थाहा हुन्थ्यो ।’ खड्का विगत सम्झिँदै भन्नुहुन्छ ‘अघिल्लो दिन नै सल्लेरी वनबाट दियालो ल्याएर आउने अनि मगमग बसाउने त्यहीँ दियालो बालेर खुबै रमाउदैं राँको फालिन्थ्यो ।’

अहिले पनि गाउँमा यी विधीवाचा पुर्‍याएर यो चाड मनाउने भए पनि उहिलेजस्तो रंग–रमाइलो नभएको पोखराका खत्रीको भनाइ छ । ‘पहिला पो डाँडामा लेकाली गोठ हुन्थ्यो, पूर्वतिर फर्केर कराउँदै जती सक्यो परसम्म राँको फालिन्थ्यो । अब त लेकतिर पनि जान छोडियो । 

अनि यता (गाउँमा) त घरैघर छन् यसकारण टाढा फाल्न त मिल्दैन तर केटाकेहीहरुले यसो रमाइलो भने गरिरहेका छन् । हामी यही हेरेर रमाउँछौ, हाम्रो पनि बालापन सम्झिन्छौं ।’ साउने साङ्क्रान्ति वर्षको पहिलो चाड भएकाले पनि यो यसलाई प्राथमिकताका साथ मनाउने गरिन्छ । 

रुकुम पूर्वमा मगर समुदायको बसोबास रहेका गाउँहरुमा पनि आजको दिनलाई विशेष मानिन्छ । यहाँका मैकोट, हुकाम, तकसेरा, कांक्री, लुगुम लगायतका विभिन्न गाउँहरुमा यहाँका आदीबासी जनजातीहरुले पनि आजको दिनलाई राँको फालेर मनाउने मनाउने गर्छन् ।

यसैमध्येको एक लगुममा आजको दिनमा निकै रमाइयो हुने स्थानीय मनकुमार पुन बताउनुहुन्छ । साँझपख घरको बाहिपट्टी मुल ढोका नजिकै विभिन्न बर्खे बालीहरु मकै, सिमि, र आलु अनि सगुनका रुपमा लोकल रक्सी समेत चढाएर दियालोको राँको बालेर त्यसको तातोले मुहार अनि आँखा सेक्ने चलन रहेको उहाँको भनाइ छ ।

‘यसो गरेमा शरीरको चिसो हराउने जनविश्वास रहेको छ । यसका साथै बलेको राँकोका चारवटा अगुल्टालाई घरको मुलीले तीनपटक नाघेर चार दिशातिर फाल्ने चलन छ ।’ पुन भन्नुहुन्छ ‘यसका साथै आजकै दिन धनकिलो नामको बिरुवालाई घरको चार कुनामा राख्ने गरिन्छ र गाईको घारो बजाएर रमाइलो गरिन्छ ।’

यसप्रकारले यो चाडलाई मनाउँदा शरीरमा घाँउ–खटीरा नआउने जनविश्वास सबैतिर रहेको छ । गजधम्म भएर बसेका रुकुम पूर्वमा गाउँहरुका प्रत्येक घरमा एकैचोटी बालिएका राँकोको रापतापको दृश्यले यहाँ फरक खालको सुन्दरता प्रदर्शित हुने गर्दछ । 

जिल्ला सदरमुकामदेखि नजिकै र मध्यपहाडी राजमार्गको छेवैमा रहेको लुगुम गाउँको दृश्यसँग साक्षत्कार हुने जो–कोहीलाई यसले मोहित बनाउँछ । साउने साङ्क्रान्तिको यो रौनक रुकुम पूर्व र पश्चिमका गाउँहरुसंगै कर्णालीका विभिन्न जिल्लामा पनि भव्य हुन्छ । 

सबैतिर यसप्रतिको जनविश्वास फरक–फरक भए पनि घरघरमा राँको बाल्ने र अगुल्टो फाल्ने चलनमा भने लगभग एकरुपता पाइन्छ । तर, पछिल्लो समयमा यो चलन विस्तारै कम हुँदै गएको यहाँका स्थानीयहरू बताउँछन् ।


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।