
काठमाडौँ । सरकारले सुकुम्वासी बस्ती खाली गरेपछि त्यहाँका बासिन्दाहरुमा बस्ने बासको चिन्ता त छँदैछ, त्यसमाथि आफ्ना बालबालिकाको शिक्षा अब के हुन्छ भन्ने अर्को पीर छ । बस्ने ठाउँकै टुंगो नभएकाले अब कता पढाउने भनेर अभिभावकहरु अन्योलको अवस्थामा छन् । बस्तीमा डोजर चल्दा कति बालबालिकाका किताब हराए, कसैका झोला छुटे । अनि, कतिका साथीभाइ ।
सानो गुडियासँग रमाउँदै गरेकी सानी नानीको नाम हो युवरानी कार्की । युवरानीको अर्थ हुन्छ युवराज्ञी अर्थात् भावी रानी । थापाथलीको सानो छाप्रो युवरानीका लागि कुनै दरबारभन्दा कम थिएन । तर शनिबार छाप्रो भत्कँदा उहाँलाई नरमाइलो लाग्यो । विश्व निकेतन स्कुलमा ४ कक्षामा पढ्दै गर्नुभएकी उहाँ अहिले कीर्तिपुरको होल्डिङ सेन्टरमा पुग्नुभएको छ । तर अब पढ्न कहाँ जाने हो थाहा छैन । बस्ने ठाउँ सरेसँगै साथी भाइ छुटे । गुडिया नै अहिले उहाँको साथी भएको छ ।
तीन कक्षामा पढ्दै गर्नुभएकी कृष्टिना थापामगरको पनि भर्नाको तयारी थियो । अझ बुवा आमाले ट्युसन पनि हाल्दिने पनि भन्नुभएको थियो। तर अब तयारीमा ब्रेक लागेको छ ।
कृष्टिनाकी आमा भन्नुहुन्छ- बसाइकै टुङ्गो छैन, अब कता पढाउने, अन्योलमा छौं।
गायत्री माया श्रेष्ठको ४ जनाको परिवार छ । उहाँहरुलाई छाप्रो भत्किएकोमा भन्दा ४ र ७ कक्षामा पढ्दै गरेका छोरीहरुको पढाइ के हुन्छ भन्ने चिन्ता बढी छ । त्यसमाथि छोरीहरुको स्कुलको पोशाक, जुत्ता र झोलासमेत हरायो ।
मध्यपुर थिमि नगरपालिका १ मनोहरा बस्तीमा रहेको सरस्वती आधारभूत प्राथमिक विद्यालयसमेत भत्काइएको छ । ८ कक्षासम्म पढाइ हुने यहाँ २ सय ८० विद्यार्थी पढ्थे । अधिकांश सुकुम्वासी परिवारका बालबालिका पढ्थे । अब नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा यी बालबालिका कता पढ्छन, थाहा छैन । होल्डिङ सेन्टरमा अहिले थुप्रै बालबालिका छन, जसको पढाइका बारेमा अभिभावकहरु अन्योल र चिन्तामा छन्, जसको समाधान राज्यले तत्काल दिनपर्छ ।