
काठमाडौं । बौद्ध धर्मालम्बीहरुको महत्वपूर्ण पर्व हाे सम्यक दान र पञ्चदान ।
काठमाडौंमा हरेक १२ वर्षमा आयोजना हुने सम्यक दान यस वर्ष २४ वर्षपछि गरिएको छ । सम्यक दानको परम्परा र संस्कृति नै हराउन लागेपछि बुधबार गुरु पूर्णिमाका दिन विभिन्न दिपंकर र तथागत बुद्धको शोभायात्रासहित सम्यक पञ्चदान पर्वको आयोजना गरिएको हो ।
काठमाडौंको महाबौद्धस्थित महाविहारको प्राङ्गणमा बुधबार विभिन्न विहार र महाविहारमा रहेका दिपंकर बुद्ध र तथागत बुद्धका मूर्तिहरुलाई लाइनबद्ध राखियो । विभिन्न आकृतिका साना ठूला नौ वटा दिपंकर देवताका साथ जीवित देवता गणेश र भैरवलाई समेत सँगै राखियो र सम्येक दान पर्व मनाइयो ।
हरेक १२ वर्षमा आयोजना हुने सम्येक दान २४ वर्षसम्म हुन नसक्दा परम्परा र संस्कृति नै हराउन लागेपछि नयाँ पुस्तालाई यसबारे जानकारी दिन सम्येक दान आयोजना गरिएको काठमाडौं महानगरपालिका वडा नम्बर २७ ले जनाएको छ ।
लिच्छविकालीन महत्व बोकेको सम्येक दानमा काठमाडौंका विभिन्न महाविहार, बहाः र बहीः मा रहेका ८५ जना शाक्य, बज्राचार्यका जेष्ठ व्यक्ति, स्थवीर र आजुलगायतलाई दक्षिणासहित विस्कुट र फलफूल दान गर्ने प्रचलन छ । बुद्ध धर्ममा दान दिनुलाई सबैभन्दा महत्वपूर्ण मानिन्छ ।
बुद्धको पालादेखि चल्दै आएको दानको महत्वलाई निरन्तरता दिँदा पुण्य प्राप्ति हुने जनविश्वास रहेको छ । धार्मिक महत्वको परम्परा र संस्कृतिलाई जीवन्तता दिन काठमाडौं महानगरपालिका लागिपरेको कार्यवाहक प्रमुख सुनिता डंगोल बताउनु हुन्छ ।
सम्येक पञ्चदानपछि गुरुजुको पल्टन र विभिन्न परम्परागत बाजासहित दिपंकर र तथागत बुद्ध मूर्तिहरुको शोभायात्रा गरिएको थियो ।