झापाका सुकुम्बासीका गुनासो : ' हरेक निर्वाचनमा लालपूर्जा दिलाउने आश्वासन दिन्छ्न '

फाल्गुन १४, २०८२ |रमा दाहाल
झापाका सुकुम्बासीका गुनासो : ' हरेक निर्वाचनमा लालपूर्जा दिलाउने आश्वासन दिन्छ्न '

झापा । आफूले भोट हालेर जिताएका जनप्रतिनिधिसँग मतदाताका थुप्रै अपेक्षा हुन्छन् । विकास निर्माणदेखि साह्रो अफ्ठ्यारो पर्दा नेताको सहयोग पाइएला कि भन्ने आशा हरेक मतदाताको हुन्छ । झापाको वुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ को सट्टाभर्ना क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासी र अव्यवस्थित बसोबासी परिवारको त्यो आशा भने वितेका साढे तीन दशक यताका कुनै चुनावले पनि पूरा गर्न सकेनन् । 

हरेक पटकका चुनावमा यो बस्तीमा भोट माग्न पुग्ने सबैजसो उम्मेदवारले लालपूर्जा दिलाउने आश्वासन दिने गरेका छन् । तर, साढे तीन दशकदेखि यो बस्ती लालपूर्जाविहिन नै छ ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ मा पर्ने सट्टाभर्ना क्षेत्रमा यो बस्ती बसेको ३७ वर्ष भयो । नेपाल चिया विकास निगमले बगान विस्तार गर्ने क्रममा २०४५ सालमा झापाको डाँगीबारी, शान्तिनगर लगायत क्षेत्रका बासिन्दालाई यो स्थानमा जग्गा दिएर सारेको थियो । तर, उनीहरुले अहिलेसम्म आफ्नो घर जग्गाको लालपूर्जा पाएका छैनन् ।

३ हजार २ सय घरधुरी रहेको यो बस्ती हरेक चुनावमा उठ्ने उम्मेदवारको भोटवैंक बन्ने गरेको छ । यहाँ भोट माग्न पुग्ने हरेक उम्मेदवारले जसरी पनि लालपूर्जा दिलाउने आश्वासन दिएर भोट बटुल्छन् । चुनाव जितेर गएपछि भने आफूहरुलाई चटक्कै विर्सने गरेको यहाँका मतदाताको गुनासो छ ।

यो वडामा ९ हजार ४ सय ७१ मतदाता छन् । तीमध्ये करिव ७० प्रतिशत लालपूर्जाविहीन छन् । यसअघिका सरकारले गठन गरेका फरक फरक भूमि आयोगले निस्सा थमाए पनि पछिल्लो पटक गठित भूमि समस्या समाधान आयोगले २ सय ३० परिवारलाई लालपूर्जा उपलव्ध गराएको वडा कार्यालयले जनाएको छ । तर, भदौ २३–२४ को जेनजी आन्दोलनपछि भने तयारी अवस्थाका लालपूर्जा पनि वितरण हुन सकेको छैन । कतिपय सुुकुम्बासी परिवार भने अवचाहिँ ढिलोचाँडो लालपूर्जा पाउनेमा ढुक्क देखिन्छन् ।

झापा क्षेत्र नम्बर १ मा पर्ने यो बस्तीले हरेक चुनावमा लालपूर्जाकै लोभमा निर्णायक मत दिएको छ । त्यसको बदलामा चुनाव जितेर गएका नेताहरुबाट धोकामात्रै खाएको छ ।


Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।