पर्सा । पानीको पर्याप्त सुविधासँगै खेतीका लागि उर्वर र बसोवासका लागि उपयुक्त भएकै कारण तराई प्रायःको रोजाइमा पर्ने ठाउँ हो । बसोवासका लागि उपयुक्त अन्नको भण्डार मानिने तराई यति बेला भने पानीको समस्याबाट जुधिरहेको छ ।
पिउने पानीको अभाव भएपछि वीरगन्ज महानगरपालिका ट्याङ्करबाट घरघरमा पानी बाँडिरहेको छ । तर त्यो पर्याप्त छैन । अझ मधेशका गाउँहरूमा चापाकल सुकेका कारण पानीको हाहाकार भएको छ ।
आकाशमा बादल मडारिरहेको छ । तर पानी परेको छैन । तराईका खोलानालाहरू सुकेका छन् । घरघरमा भएको चापाकलबाट पानी आउन छोडेको छ । खेतमा गाडेको डीप बोरिङले पनि पर्याप्त पानी दिएको छैन । घरदेखि खेतसम्म पानीको समस्याले यति बेला बारा र पर्साका स्थानीय पीडित भएका छन् ।
“सबैको घरको चापाकल सुकिसकेको छ । कसैको चापाकलमा पानी आउँदैन । चैतदेखि नै धेरैको चापाकल सुक्यो । केहीको जेठ असारमा सुक्यो । महानगरले पानी त वितरण गरेको छ । तर कतिपयले त्यो पनि पाएको छैन । पानी पुगेकै छैन”, वीरगन्ज-११ श्रीपुरकी श्रीकान्ति देवीले बताउनुभयो ।
असार महिना आकाशे पानी पर्ने मुख्य समय हो । तर जेठमा थोरै पानी परे पनि असार महिनामा बारा पर्साको दक्षिणी भेगमा पानी परेको छैन । जसका कारण किसानले खेत रोपाइँ गर्न पाएका छैनन् । यता चैत महिनादेखि नै फाट्टफुट्ट सुक्न थालेको चापाकलहरू असारको अन्तसम्म आउँदा अधिकांश चापाकलबाट पानी आउन छोडेको छ । यसले बारा र पर्साका नगर र गाउँसँगै मधेश प्रदेशकै एक मात्र महानगर वीरगन्जलाई काकाकुल बनाएको छ । स्थानीय खानेपानी नपाएर पीडित हुँदा पनि केही जनप्रतिनिधिहरू जनताका पीडालाई भोटको राजनीति बनाएको स्थानीयको दुःखेसो छ ।
वीरगन्ज-११ की मीनादेवी राम भन्नुहुन्छ, “पोहोरदेखि नै हामी खानेपानीको समस्याले पिरोलिएका छौं । नुहाउन, खाना पकाउन र खान पानी चाहिन्छ । हामीलाई पानी चाहियो । जनता पानीबिना मरिरहेको छ । वडाध्यक्ष र प्रमुखले भन्छन् हामीले भोट दिएको छैनौं । हामीले भोट नदिएरै उहाँहरूले जितेको हो र ?”
पानीको समस्या वीरगन्जको प्रायः सबै वडामा उस्तै छ । तर महानगरको ११, २४ र २५ नम्बर वडासँगै बजार क्षेत्रमा पानीको समस्या निकै देखिएको र आफूहरू ट्याङ्करमा पानी बोकी हरेक वडामा पानी वितरणमा अहोरात्र लागिपरेको महानगरका ट्याङ्कर चालकहरू बताउँछन् ।
वैभव वीरगन्जको नारा बोकेर वीरगन्जको विकासमा लागिपरेका महानगरका प्रमुखलाई यति बेला पानीको समस्याले हैरान बनाएको छ । खानेपानी नपाएर काकाकुल बनेका वीरगन्जवासीलाई तत्काल राहत दिन महानगरले कतै डीप बोरिङ त कतै ट्याङ्करको माध्यमबाट पानी वितरणको व्यवस्था मिलाएको छ ।
पानीको समस्याको दीर्घकालीन समाधानका लागि वडा नम्बर १७, १९, ३० र ३२ नम्बर वडामा पहिले नै निर्माण भएर प्रयोगविहीन बनेको ओभरहेड ट्याङ्कबाट पानी वितरणको व्यवस्था मिलाउन पाइपलाइन जडानका लागि महानगर प्रमुखले प्रयास गरिरहेको दाबी गर्नुभएको छ । उहाँले त्यसका लागि खानेपानी मन्त्रीसँग कुरा गरेर बजेट व्यवस्थापनमा लागिपरेको समेत बताउँदै आउनुभएको छ ।
अहिले महानगरले समस्याको अल्पकालीन समाधान गर्न ७ वटा ट्याङ्करको माध्यमबाट पानी वितरणको व्यवस्था मिलाएको छ । त्यस्तै १० हजार लिटरको पानीको ट्याङ्कीमा पानी भरेर पानी वितरणको व्यवस्था मिलाएको महानगरले ठाउँठाउँमा डीप बोरिङ गाडेर खानेपानी वितरणको व्यवस्था मिलाइएको छ ।