जेन-जीको नाममा कर्मचारी धम्क्याउने शाहीसँग प्रहरीको परिचयपत्र फेला

आश्विन ३०, २०८२
जेन-जीको नाममा कर्मचारी धम्क्याउने शाहीसँग प्रहरीको परिचयपत्र फेला

काठमाडौं । जेन-जीको नाममा विभिन्न सरकारी निकायका कर्मचारीलाई धम्कयाउँदै हिँडेको आरोपमा पक्राउ परेका अर्जुन शाहीसँग नेपाल प्रहरीको परिचयपत्र समेत फेला परेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले शाही चाबहिलको एक होटलमा प्रहरीको परिचय पत्र देखाएर बसेको भेटिएकोले थप अनुसन्धान भैरहेको जानकारी दिनुभयो ।

शाहीको साथमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत् प्रहरी सहायक निरीक्षकको परिचय पत्र भेटिएको हो । उक्त परिचयपत्रमा कुमार शर्माको नाम लेखिएको छ । उक्त परिचयपत्रबारे पनि प्रहरीले अनसन्धान भैरहेको जनाएको छ ।

जेन–जी आन्दोलनपछि ज्ञापनपत्र बुझाउने भन्दै शाहीले नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगमविभिन्न सरकारी कार्यालयका प्रमुखलाई भेटेर उनले केरकार गर्दै आएका थिए ।

पछि शाहीबारे खोजी हुँदा उनी वैदेशिक ठगी र बैंकिङ कसुरका आरोपीसमेत रहेको खुलेको थियो । उनलाई २८ वैशाख २०८२ मा उपत्यका अपराध अनुसन्धान कार्यालयले कोरिया पठाउँछु भन्दै ठगी गरेको आरोपमा पक्राउ गरेको थियो ।

प्रहरीले पक्राउ गरेर बुझाएपछि वैदेशिक रोजगार विभागले अनुसन्धान गरिरहेका बेला उनीमाथि प्रहरी वृत्त, महाराजगन्जमा बैंकिङ कसुरको अर्को जाहेरीसमेत थियो । शाही इलाम २ मा भएको उपचुनावमा समेत उम्मेदवार बन्दा ५५ मत पाएका थिए ।