काठमाडौं । नवघोषित कुमारी आर्यतारा शाक्यको आज आसन ग्रहण गर्ने कार्यक्रम छ । कुमारीलाई जीवित देवीका रुपमा पूजाआजा गर्ने परम्परा रहेको छ ।
कुमारी छनोटको विधिअनुसार गुठी संस्थान, पञ्चांग निर्णायक समिति र सरोकार भएका पक्षसँगको सल्लाह तथा परामर्शपछि आर्यतारालाई नयाँ कुमारीका रुपमा आर्यतारालाई छनोट गरिएको समितिले जनाएको छ ।
काठमाडौं इटुम्बहालकी साढे दुई वर्षीया कुमारीलाई मध्याह्नको शुभसाइतमा विधि विधानपूर्वक कुमारीघरमा आसन ग्रहण गराउने तयारी रहेको पूजारी गौतमरत्न शाक्यले बताउनुभयो । विशेष बाजागाजासहित आसन गराएपछि तलेजु भवानीको दर्शनका लागि मन्दिरमा यात्रा गराइने पनि उहाँले बताउनुभयो । कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले कुमारीको दर्शन गर्ने परम्परा छ।
कुमारीलाई महालक्ष्मीको प्रतीकसमेत मानिएको छ । तत्कालीन राजा जयप्रकाश मल्लले कुमारीलाई स्थापना गरेको बताइन्छ।