
काभ्रे । अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले ठाउँठाउँमा बगाउँदा अवरुद्ध भएको बीपी राजमार्गको काभ्रे खण्डको दाउनेसम्म अस्थायी ट्र्याक खोल्ने काम सकिएको छ । सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार भोलिदेखि सवारीसाधनको आवागमन सहज रूपमा सञ्चालन हुने गरी तयारी पूरा भएको हो ।
सडक डिभिजनका ३० स्काइभेटर तथा अन्य मेसिनरी उपकरणले निरन्तर रूपमा मर्मत र ट्र्याक पुनःस्थापनाको काम गरेपछि बाटो गाडी चलाउन लायक भएको हो ।
सडक डिभिजनका तथ्यांकअनुसार २०८१ साल असोज दोस्रो साताको रोशी खोलाको बाढीले करिब ८ किलोमिटर सडक बगाएको थियो, भने गत असोज १७ र १८ गतेको बाढीले फेरि १४ स्थानमा ५ किलोमिटरभन्दा धेरै सडक बगेको थियो । सडक नखुल्दा महाभारत गाउँपालिका १७ गतेदेखि पूर्णरूपमा सडक सञ्जालविहीन बनेको थियो ।
त्यस्तै रोशी गाउँपालिकाका धेरै क्षेत्रमा पनि सडक सञ्जाल टुटेकोमा अब भने आवागमन सहज हुने भएको छ । हाल दुवै गाउँपालिकाका अध्यक्षहरू, सडक डिभिजनका प्रमुख सुमन योगेश, पूर्वाधार विकास कार्यालयका प्रमुखलगायतको प्राविधिक टोली बीपी राजमार्ग तथा प्रादेशिक राजमार्ग दुवै खोल्ने कार्यमा फिल्डमै खटिएको छ ।
डिभिजनले स्थायी पुनर्निर्माणको तयारी सुरु भइसकेको बताउँदै यात्रु र सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरेको छ ।